नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन् । सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले संसदभित्र राप्रपा सांसदहरूले गरेको क्रियाकलापबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा गम्भिर समिक्षा गर्ने समेत बताए । उनले संविधानमा नलेखिएका शब्दहरू संसद्को कल्चरमा नआउने स्पष्ट पारे । उनले राजावादीको नाममा संविधानले नचिनेका शब्दहरू सदनभित्र मात्र नभई सदनबाहिर समेत कानुन विपरीत रहेको उनको तर्क छ ।
उनले भने, ‘संविधानमा नलेखिएका शब्दहरू संसदका कल्चरहरुमा यस्ता विषयहरु आउन सक्दैनन् । यी पूर्व भइसकेका विषयहरु हुन् । राजावादीको नामबाट संविधानले नचिनेका शब्दहरू जे कुरा भइरहेको छ । यो सदनभित्र मात्र होइन । सदनबाहिर पनि कानुन विपरीत कुरा हो ।’
प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री बोल्दै गर्दा भएको अमर्यादित र अराजक गतिविधिबारे कार्यव्यवस्था समितिको बैठकमा छलफल गरिने बताए ।























