राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेपाली कांग्रेस– नेकपा एमालेहरु सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेको हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
अध्यक्ष लिङ्देनले चैत १५ गते भएको राजावादी समूहको आन्दोलनमा आन्दोलनकारीले मात्र नभई राज्यपक्षबाट समेत ज्यादती गरिएको आरोप लगाए । उनले अहिले सत्तामा रहेका दलहरु समेत तोडफोड र मान्छे मारेर सत्तामा पुगेको टिप्पणी गरे । उनले सरकारले राजावादी आन्दोलन बिथोल्नको लागि घरको छतमा बसेर म्याद गुज्रेका अश्रुग्याँस फालेको आरोप लगाए ।
उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यो नियन्त्रण गर्ने दायित्व सरकारको होइन ? तपाई कांग्रेस–एमाले भन्नेहरु आज यो सत्तामा भजन कीर्तन गाउँदै मादल बजाउँदै आइपुगेको हो ? तपाईहरु तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ?’
अध्यक्ष लिङ्देनले न्यायिक छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।























