नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद् अवरुद्ध भएको बताएका छन् । आइतबार विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद खतिवडाले देशमा समस्या परेको बेलमा सांसदहरूले एकताबद्ध भएर संसदमा आफ्नो कुरा राख्न पाउने प्रचलनविरुद्ध प्रतिपक्ष लागेको बताए । सभामुखले आपत्कालीन समय उपलब्ध गराउने भन्दा भन्दै प्रतिपक्षीहरूले संसद् अवरुद्ध गरेको उनको भनाइ छ । उनले प्रधानमन्त्रीले सोमबार संसदमा जवाफ दिने भनेर सभामुखले जानकारी दिँदा पनि विपक्षीले संसद् चल्न नदिएको बताए ।
उनले भने, ‘सत्तापक्ष प्रतिपक्ष भन्ने आफ्नै ठाउँमा होला, तर देशलाई अप्ठ्यारो परेको बेलामा सबै एकताबद्ध भएर संसदबाट आफ्नो कुरा राख्न पाउने प्रचलन हुन्छ र त्यसलाई प्रयोग गरौँ भन्ने हाम्रो धारणा थियो । सभामुखले म समय दिन्छु भन्दा भन्दै पनि हामी त बसेका थियौँ, त्यो हाम्रो पनि माग हो आपत्कालीन अवस्थामा आपत्कालीन समय लिएर सबै सांसदले आफ्ना कुरा राख्न माग गरे सभामुखले बस्नुस् म समय दिन्छु भन्दा पनि प्रमुख प्रतिपक्षले नमानेका कारण संसद् अवरुद्ध भयो ।’
सांसद खतिवडाले तीनकुने घटनाको प्रसंगमा संविधान मान्छु भनेर शपथ लिएर आउनेले संविधान समाप्त पार्ने खेल खेलेको आरोप लगाए ।























