images
images
  • राजावादीको प्रदर्शनमा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन

    चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरूको प्रदर्शनबाट भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

    समितिको तर्फबाट समिति सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटनाहरू पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखी तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन दिए ।

    उनले भने, ‘अराजक गतिविधिबाट निजी सम्पत्ति लगायतका सरकारी सम्पत्तिमा गम्भीर क्षति भएको हुँदा उक्त दिनको घटनाको सत्यतथ्य छानबिन गरी संलग्न जो सुकैलाई पनि कानुनी दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न र यस प्रकारका घटनाहरू पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखी तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ ।’

    समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images