राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताएका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरी संसद् अवरोध गरेका हुन् ।
अवरोधपछि राष्ट्रिय सभा सदस्यहरूलाई बसेर कारबाही अघि बढाउन सहजीकरण गरिदिन आग्रह गर्दै अध्यक्ष दाहालले समस्याको समाधान सभा अवरुद्ध गरेर नहुने बताए ।
उनले भने, ‘हामी १७ औँ अधिवेशनको करिब अन्त्यतिर छौँ । अर्को अधिवेशन सुरु हुन पनि ढिलो भइसकेको छ अब । अहिले दुई चार दिन भन्दा अगाडि राष्ट्रिय सभाको राम्रो छवि बनेको थियो । हामीले जति विधेयकहरू पास गरेर अघि बढायौँ, त्यसले राम्रोसँग अघि बढेको छ भन्ने थियो ।’
अध्यक्ष दाहालले राजनीतिक दलहरूको सक्रियताबाट नै समस्या समाधान गर्नुपर्ने बताए । सत्तापक्ष र प्रतिपक्ष एक—एकतिर कानमा तेल हाले बसेर मात्रै समस्या समाधान नहुने उनले जिकिर गरे ।























