चार दलीय समाजवादी मोर्चा र राजावादीले आज काठमाडौँमा छुट्टा छुट्टै प्रदर्शन गर्दैछन्। माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा र राजावादी समूहले वर्तमान व्यवस्थाकै विरुद्धमा प्रदर्शन गर्न लागेका हुन्।
गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई ध्यान दिएर सरकारले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाएको छ। ठाउँठाउँमा शुक्रबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र ट्राफिक प्रहरी परिचाल परिचालन गरिएका छन्।
गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमतमा समस्या देखिएकाे छ। सवारी सञ्चालन हुने कतिपय रुटहरु बन्द गरिएका छन्।
जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना भएको छ। समाजवादी माेर्चाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनीमार्गमा मञ्च निर्माणमा जुटेका छन्।
समाजवादी मोर्चाले सभा गर्न लागेको प्रदर्शनी मार्गलाई केन्द्रीत गरेर ट्राफिक प्रहरीले केही रुटबाट सवारी साधन सञ्चालनमा रोक लगाएको छ। त्रिपुरेश्वर चोकबाट सुन्धारातिर जाने रुट बिहानैदेखि प्रभावित भएको छ। त्यसैगरि घण्टाघरबाट विद्युत् प्राधिकरण हुँदै सहीदगेट निस्कने रुट पनि बन्द छ।
सिंहदरबारबाट पुतलीसडक प्रदर्शनीमार्ग हुँदै चल्ने रुट पनि बन्द छ। कतिपय रुटलाई वान-वे गरिएको छ।
आज समाजवादी मोर्चाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीले तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेका छन्। दुई समूहबीच भेट हुन नदिन स्थानीय प्रशासनले राजावादी समूहलाई रिङरोडभित्र प्रवेशै गर्न नदिने तयारी गरेको छ।
चार दलीय समाजवादी मोर्चाले भने रिङरोडभित्रका विभिन्न क्षेत्रबाट जुलुश प्रदर्शन गर्दैछन्।
यस्तो छ जुलुस प्रदर्शनको रुट
समाजवादी मोर्चाका विभिन्न जुलुस रिङरोडभित्रका विभिन्न ठाउँबाट सुरु भएर भृकुटीमण्डप पुग्नेछ। बबरमहल–माइतीघर, कुपन्डोल–थापाथली, सोह्रखुट्टे–पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने समाजवादी मोर्चाले जनाएको छ।
समाजवादी मोर्चाले विभिन्न रुटमा विभिन्न पार्टीको नेतृत्वमा जुलुस निस्कने जनाएको छ।
उता दुर्गा प्रसाइँ नेतृत्वको राजावादीहरुको जुलुस भने तीनकुनेमा पुगेर सभामा परिणत हुने तयारी छ।
भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने कार्यक्रम छ।
त्यसैगरि जोरपाटी, बौद्ध, चाबहिल, गौशाला हुँदै अर्को जुलुस तीनकुने आउने छ। यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी स्थानीय प्रशासनले राजावादी समूहको लागि अर्को रुट निर्धारण गरेको छ।
कलंकीतर्फबाट निस्किने राजावादीको जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने तय भएको छ।























