images
images
  • कुलमानको विषयलाई लिएर संसद् अवरोध गर्नु गलत : महामन्त्री शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद् अवरोध गर्नु गलत भएको बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    महामन्त्री शर्माले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीहरूको माग गलत भएको बताए । अदालतमा गइसकेको विषयलाई लिएर प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्नु भविष्यका लागि गलत सन्देश जाने उनको भनाइ छ । उनले केही महिना मात्रै पदावली बाँकी रहेका घिसिङलाई पदमुक्त गर्दा नकारात्मक सन्देश गएको पनि बताए ।

    महामन्त्री शर्माले घिसिङलाई हटाएका कारण प्रतिपक्षले संसद् अवरोध गर्दा महत्त्वपूर्ण अध्यादेशहरू संसदमै थन्किने आशंका व्यक्त गरे । संसदबाट अध्यादेश पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने समय सीमा ज्यादै थोरै भएकाले प्रतिपक्षीको संसद् अवरोधका कारण प्रभावित भएको उनको भनाइ छ ।

    उनले भने, ‘संसद् प्रतिपक्षले अवरुद्ध गरेको छ र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भनेको छ । यसबारेमा मेरो टिप्पणी के छ भने यो विषय अब अदालतको विषय भइसक्यो । सम्मानित अदालतमा गइसकेको विषयमा संसद् अवरोध गर्नु उचित हुँदैन । प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको भनाइमा मेरो टिप्पणी यति छ कि कुलमानजीलाई हटाएको विषय गलत भयो भन्नुस्, पुनर्बहाली गर्नुहोस् भन्नुस्, अदालतबाट पुनर्बहाली हुनुहोला भनेर कामना गर्नुस् तर निर्णयको विरुद्धमा बोल्नुस् यो आफ्नो ठाउँमा छ । तर सरकारले हरेक निर्णयको सन्दर्भमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्ने नजिर बसायौँ भने यसले भोलिका लागि सकारात्मक नजिर बस्दैन ।’

    महामन्त्री शर्माले कुलमान घिसिङलाई पदबाट नहटाउन आफूहरूले सरकारलाई सल्लाह दिएको तर त्यो कार्यान्वयन नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images