प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले सुरु गरेको र आफैँले अगाडि बढाएको बताए । उनले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन र सफल पार्न मात्रै चाहेको र त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गरे । उनले पीडितका घाउमा मलहम लगाउन र अबबाट नेपालमा अशान्ति हुँदैन भन्नेकुराको ग्यारेन्टी गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी काम कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबिचको समझदारीमै टुंग्याइने भन्दै समझदारी गर्न आह्वान गरे । तीन राजनीतिक दलहरूले संकल्प गर्ने हो भने धेरै समय नलाग्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैँले सुरु गरेका छौँ । हामी आफैँले अगाडि बढाएका छौँ । कसले श्रेय लिने हो भन्नेकुरा छोडिदिऔँ । म यसलाई सफल मात्रै पार्न चाहन्छु, श्रेय म बाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन, श्रेय चाहिएन । सफल पारौँ । पीडितका घाउमा मलहम लगाऔँ । उहाँहरुका आँशु पुछौँ । नेपाली जनतालाई निश्चिन्त बनाऔँ कि अब नेपालमा शान्ति हुनेछ । यस्तो भायलेन्स हुनेछैन, यसरी मान्छे पीडित हुनुपर्ने छैन ।’
आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस्
प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गरे । जनतालाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरूले लिनुपर्ने उनले बताए । उनले जनतालाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताए । अशान्ति भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरुसँग आग्रह गरे । आज अधिनायकवादी नभइ लोकतान्त्रिक सरकार रहेको जिकिर उनले गरे । जनताका सुझाव सुन्नका लागि आफू सदैव तत्पर रहेको उनले बताए । सबैको रचनात्मक भूमिका भएमात्रै गरिबी हटाउन, देश विकास गर्न सम्भव रहेको उनले बताए । आफूले आलोचनालाई स्वागत गर्ने पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले समाज नबिथोल्न, शान्ति प्रक्रिया नभाँड्न आग्रह गरे । शान्ति प्रक्रिया सफल बनाउन पनि उनले आह्वान गरे । सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि सिफारिस समिति बनेर काम सुरु गरिसकेको र दुई महिनापछि सिफारिसको आधारमा आयोग गठन हुने बताए । न्याय र परिपूरण दिनेकुरामा लाग्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले विगतमा नेपालले ठुलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि उक्त हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ भन्दै प्रश्न गरे । माओवादी द्वन्द्व राष्ट्रिय गल्ती भएको उनले बताए ।























