नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबिच विवाद नरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको बताए । उनले टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरूलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेकुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको जिकिर गरे । उनले राजनीतिक नेतृत्व मूलतः पीडितलाई न्याय दिनेकुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्नेकुरामा स्पष्ट रहेको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको छ । अर्को यो टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरा मुख्यतः पीडितहरूलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेकुरालाई पनि राजनीतिक नेतृत्व तहमा कहिल्यै विवाद भएन । मानिसहरूलाई लाग्छ, त्यस्तो होइन होला भनेर । तर हामी राजनीतिक नेतृत्व मूलतः पीडितलाई न्याय दिनेकुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्नेकुरामा हामी कन्फ्युजनमा कहिल्यै भएनौँ ।’
अध्यक्ष प्रचण्डले विवाद र विमतिका बिचमा पनि देशको राष्ट्रिय मुद्दा भएकाले राजनीति गर्न हुँदैन भनेर आफूहरू लागिरहेको बताए ।























