प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा सरकारको विरोध गर्ने निर्णय गरेका छन् । बुधबार सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरूको बैठकले सदन र सडकबाट सरकारको उक्त निर्णयको विरोध गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रूपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरूले संसदमा आवाज उठाउने र सडकमा पनि विरोध गर्ने निर्णय भएको बताए । सरकारले कुलमानलाई दुई तिहाइको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरूको आरोप छ । तर संसदीय गतिविधि बाहेकका काममा दुई तिहाइको अर्थ रहँदैन ।
उनले भने, ‘पछिल्ला गतिविधि र सरकारले गरेका पछिल्ला निर्णयहरूको बारेमा संसदमा भएका विपक्षी दलहरूको बैठक बस्यौँ । मुख्यतः सोमबार राति भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जुन अलोकतान्त्रिक तरिकाले, दुई तिहाइको दम्भका साथ पार्टीहरूको सरकारले गलहत्त्याउने काम गरेको छ ।’
उनले सदनमा प्रतिपक्षी दलहरूले सरकारको उक्त निर्णयको विरुद्धमा विरोध गर्ने बताए ।























