शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानुन बनाउन आवश्यक रहेको बताएकी छन् । मंगलबार शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री भट्टराईले सरकार शिक्षा क्षेत्रको विस्तारमा ध्यान दिँदा त्यसको गुणस्तरका लागि केही गर्न नसकिएको बताइन् । उनले राज्य र विश्वविद्यालयबिचको सम्बन्ध के हो भनेर परिभाषित हुने खालको ऐन आजसम्म बनाउन नसकिएको बताइन् । उनले विश्वविद्यालयहरूलाई खुला रूपमा काम गर्ने वातावरण बनाउन जरुरी रहेको समेत बताइन् । उनले जे गर्दा पनि अर्थ मन्त्रालयसँग अनुमति लिनुपर्ने समस्याको कारण वैज्ञानिकहरू समस्यामा परेको बताइन् ।
उनले भनिन्, ‘हामीले जतिपनि अहिलेसम्म शिक्षा क्षेत्रलाई विस्तार गरिरहेका छौँ । त्यसको गुणस्तरमा हामीले केही पनि गर्न सकेका छैनौँ । आजसम्म हामीले एउटा नियम पनि बनाएका छैनौँ । हामी बल्ल विश्वविद्यालयका मात्र ऐनहरू बनाइरहेका छौँ । तर राज्य र विश्वविद्यालयको सम्बन्ध के हो त ? भन्ने ऐन त हामीले आजसम्म बनाएका छैनौँ । हामीले हरेक कुराको अर्थ मन्त्रालयबाट अनुमति लिनुपर्ने भनेका हुन्छौँ ।’
मन्त्री भट्टराईले युवाहरूलाई नेपालमै बस्ने वातावरण निर्माण गर्ने खालको गुणस्तरीय शिक्षा प्रदान गर्ने खालको ऐन बनाउनुपर्ने बताइन् ।























