प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरू अघि बढिसकेको बताएका छन् । मंगलबार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानन्यायाधीश राउतले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकिल, न्यायाधीश, कानुन व्यवसायी तयार हो की होइन भन्दै प्रश्न गरे । उनले अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने जिकिर गरे । न्यायिक सुधार गर्नुपर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको उनले बताए । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने उनले बताए । प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने उनले बताए ।
प्रधानन्यायाधीश राउतले जसरी भएपनि जुडिसियल रिफर्म गर्नुपर्ने बताए ।























