काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न नेपाल विद्यार्थी संघका नेता योगेन्द्र रावल कारागार चलान भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार पक्राउ गरेर अदालत पेस गरेको थियो। त्यसपछि उनलाई अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका एसपी सुधीरराज शाहीले जानकारी दिए ।
ज्यान मार्ने उद्योगमा उनीमाथि २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। जिल्ला अदालतको उक्त फैसला उच्च अदालतले पनि सदर गरेको थियो ।
जिल्ला अदालत, काठमाडौँले २०८० मंसिर ७ गते चलाउनेमाथि आक्रमणमा संलग्न रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, सयुज श्रेष्ठ, रविनकुमार लामालाई दोषी ठहर गरेको थियो ।
चलाउनेमाथि आक्रमणको मुख्य योजनाकार हरिप्रसाद आचार्य भने अझै पनि फरार छन् ।
चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै कुटपिट भएको थियो ।























