images
images
  • लोक सेवालगायत ११ संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त हुँदै


    काठमाडौँ । लोक सेवालगायत ११ वटा संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्ति हुँदै छन् ।

    संवैधानिक परिषद्ले सिफारिस गरेका लोक सेवा आयोगलगायत विभिन्न ११ वटा आयोगका अध्यक्ष तथा सदस्य गरी २० पदाधिकारीहरूको सूची राष्ट्रपति कार्यालयमा तयारी अवस्था रहेको जनाएको छ । प्रशासन उच्च स्रोतका अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति दिँदै छिन् ।

    प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ नभइसकेकाले वैशाख अन्तिम साता सिफारिस गरिएका संवैधानिक निकायका पदाधिकारीले स्वतः नियुक्ति पाउने भएका हुन् ।

    संवैधानिक परिषद्ले संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेका नाम सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी गराएको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने प्रावधान छ ।

    यसअघि गत मङ्सिरमा सिफारिस गरिएका संवैधानिक निकायका ३२ पदाधिकारीलाई प्रतिनिधिसभा नहुँदा संसदीय सुनुवाइबिनै ४५ दिनपछि स्वतः नियुक्त गरिएको थियो । परिषद्ले गत मङ्सिर ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलगायतमा ३८ जनाको सिफारिस गरेकामा ३२ जनाले सुनुवाइबिना नियुक्ति पाएका थिए ।

    सिफारिस गरेको ६ दिनपछि अर्थात् पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएकै दिन परिषद्ले सिफारिसको जानकारी संसद् सचिवालयलाई दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images