काठमाडौं– नेकपा (एमाले)भित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनःगठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी रहेको छ ।
कार्यदलमा रहेका पदाधिकारीबीच गत भदौ २८ गते काभ्रेपलाञ्चोकको बल्थलीमा भएको छलफलका आधारमा प्रतिवेदनलाई एकीकृत गर्न लागिएको हो ।
कार्यदलको आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा सहमतिका आधारमा एकीकृत प्रतिवेदन तयार गरेर सचिवायको बैठकमा पेस गर्ने समझदारी भएको एमालेका सचिव महेश बस्नेतले बताए ।
सचिव बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचना नगर्ने, राजीनामा नमाग्ने, पुनःगठनको कार्यसूचीका आधारमा विशेष महाधिवेशन नडाक्ने र वर्तमान सरकारका काम कारबाहीबारे छलफल गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउन सकिने विषय प्रतिवेदनमा थप्नुपर्ने बतातए ।
उनले नेतृत्वको कार्यकाल, उमेर हदजस्ता विषयमा विधानमा गरिनुपर्ने संशोधनबारे नियमित विधान महाधिवेशनमा छलफल गर्ने र कार्यदललाई प्रदेशस्तरमा प्राप्त सुझावलाई प्रतिवेदनको अंगका रुपमा राख्ने विषयमा पनि कुराकानी भएको बताए ।
उनले एमालेभित्रको बदलिँदो मनोविज्ञान र परिस्थिति तथा पार्टीलाई एकताबद्ध बनाएर लान खुला ढंगले छलफल गरेर साझा प्रतिवेदन सचिवालयको बैठकमा पेस गरिने बताए ।
उनले पार्टीभित्र नेतृत्व पुनःगठनको विषय प्रतिवेदनमा नआउने स्पष्ट गरे ।
गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनःगठनका लागि सुझाव दिन गठित कार्यदलले प्रदेशस्तरमा पुगेर सुझाव संकलन गरेको थियो ।
बल्थलीमा भएको बैठकले पार्टीका उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललाई एकीकृत प्रतिवेदन ल्याउन जिम्मेवारी दिएको थियो ।
कार्यदलका लागि महासचिव पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक थापाकै फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो ।
गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
गत जेठ २६ गते पार्टीका अध्यक्ष ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव लिने कार्यतालिका बनाएको थियो ।
एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक यही असोज ५, ६ र ७ गतेका लागि तोकिएको छ ।


विश्व खबर 



















