गृहमन्त्री रमेश लेखकले पश्चिम नेपाल भूकम्पबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताएका छन् । आज सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले डोटी, बझाङ र जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भएको क्षतिको डिडिए भइसकेको स्थायी आवास निर्माण कार्य अघि बढिसकेको र हुन बाँकी रहेकाहरूको डिडिएको काम अघि बढाइएको बताए । जाजरकोटमा पुनः स्थापन, पुनः निर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भइसकेको उनले बताए । केन्द्र सरकारबाट अनुदान जाने काम प्रारम्भ भएको पनि उनले बताए ।
गत असोज महिनाको अविरल वर्षाका कारणले बागमती, कोशी प्रदेश लगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको र त्यसका लागि तत्काल डिडिएको काम अघि बढाउने र डिडिएकासँगै निजी अवासहरु स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी र अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी बनाउने गरेर अघि बढ्ने निर्णय भएको गृहमन्त्री लेखकले जानकारी दिए ।
उनले भने, ‘खास गरेर डोटीमा, बझाङमा जाजरकोटमा केन्द्रबिन्दु बनाएर जुन भूकम्प गएको थियो । त्यसका बारेमा डिडिए हुन नसकेका ठाउँमा डिडिए गर्ने, डिडिए गर्नुका साथै डिडिए भएका ठाउँमा निजी अस्थायी आवासहरु निर्माणको कार्य अघि बढाउने निर्णय गरेका थियौँ । पश्चिम नेपाल भूकम्पका बारेमा काम गर्नका लागि तीन वटा कार्यालय पनि म आफैँ गएर उद्घाटन गरेर आएको थिएँ । त्यसका बारेमा आजको बैठकमा जानकारी लिने काम भयो ।’
गृहमन्त्री लेखकले आगामी दिनमा विपदबाट हुनसक्ने सबै खालका जोखिमका लागि तयार रहने गरी सरकार अघि बढिरहेको बताए ।























