images
images
  • २५ करोड विदेशी अवैध मुद्राबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माओवादीको माग

    नेकपा (माओवादी केन्द्र)ले काठमाडौँबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानबिनका लागि समिति गठन गर्न माग गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले काठमाडौँबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गरेका हुन् ।

    सांसद सापकोटाले मुलुकमा आर्थिक अपराध मौलाउँदै गएकोप्रति समेत चिन्ता व्यक्त गरे । उनले यस्तो अपराध उच्च तहको संलग्नताबिना सम्भव नहुने भन्दै आवश्यक अनुसन्धान गर्न माग गरे । उनले घटनाको छानबिन गरी संलग्न जोसुकै भएपनि कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘यस्ता प्रकृतिका घटनामा भरिया र ड्राइभरमात्र पक्राउ पर्दछन् । केही समय ठूलाठूला समाचार बन्दछन् र निश्चित समयपछि सामान्य रूपमा जाने गरेको छ । हाम्रो दलको तर्फबाट, यो घटनाको लागि छानबिन गर्न एउटा विशेष छानबिन समिति गठन गरियोस् र यो घटनामा संलग्न उच्च तहका नेता एवं कर्मचारी भएपनि कानुनी दायरामा ल्याउन माग गर्दछु । ’

    काठमाडौँ प्रहरीले करिब २५ करोड नगदसहित दुई जनालाई पक्राउ गरेको थियो । अमेरिकी डलर र युरोसहित दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images