images
images
  • विद्यालयमा छोराछोरी भर्ना गराउन शिक्षामन्त्रीलाई फोन

    काठमाडौं :फलानो स्कुलमा भर्ना गरिदिनुपर्‍यो भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई निकै फोन आउने गरेको छ।

    बुधबारको गोरखापत्र दैनिकमा समाचार छ,अहिले स्कुल भर्नाको मौसम हो। नयाँ विद्यार्थी भर्ना कार्य तीव्र छ। विशेष गरी नाम चलेका विद्यालयमा कक्षा १ मा नयाँ भर्ना गर्ने र त्यसमा सीमित सिट सङ्ख्या हुने हुँदा अभिभावक आफ्ना छोराछोरी ती स्कुलमा भर्ना हुन नसक्लान् कि भनेर तनावमा छन्। आफूलाई भनियो भने त्यहाँ भर्ना पक्का हुन्छ भन्ठानेरै फोन आउने गरेको मन्त्री भट्टराईले बताइन्।

    विशेष गरी नाम चलेका तर भर्ना पाउन कठिन भएका निजी, सामुदायिक तथा ट्रष्ट का स्कुलमा भर्ना गरिदिन यस्ता फोन आउने गरेको हो। पछिल्लो समय नाम चलेका सामुदायिक विद्यालयमा समेत भर्ना गर्न कठिन हुने गरेको छ। त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘पछिल्लो समय स्कुलले थेग्नै नसक्ने गरी विद्यार्थी भर्नाको चाप बढ्न थालेको छ। अभिभावकले फोन गरेर जसरी पनि नानीबाबुको नाम निकालिदिनु पर्‍यो भन्नुहुन्छ तर भर्ना हुन आएका सबैलाई भर्ना गराउने चाहना भए पनि सकेका छैनौँ।’

    विद्यार्थी चाप थेग्न नसकेपछि ज्ञानोदय माध्यमिक विद्यालयलगायतले त कोड नम्बर प्रयोग गरेर प्रवेश परीक्षा सञ्चालन गर्न थालेका छन्। विगतमा माथिल्लो कक्षामा भर्नाका लागि मात्रै धेरै दबाब आउने गरेकामा पछिल्लो समय तल्ला कक्षादेखि नै विद्यार्थी भर्नाको चाप यस्ता विद्यालयमा देखिन थालेको छ।

    शिक्षा मन्त्रालयले मंगललबार उपत्यकाका त्यस्ता स्कुलका पदाधिकारीलाई बोलाएर छलफल गरेको छ। छलफलमा शिक्षामन्त्री भट्टराईले भनिन्, ‘यस्ता फोन आउनुहुन्न तर आइरहेका छन्। यसरी भनसुनका आधारमा भर्ना गर्नुहुँदैन। सबैलाई समान व्यवहार गर्नुपर्छ।’

    ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल अमृत राईले भने, ‘मन्त्री, सचिव, ललितपुरका प्रमुख जिल्ला अधिकारी आदिको कोटा छ भनेर बजारभरि हल्ला छ। वास्तवमा कसैको पनि कोटा राखिएको छैन। कतिपयले चिट्ठा निकाल्दा हाम्रा छोराछोरीको नाम निकालिदिनू पनि भन्ने गरेका छन्।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images