काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढेर गएको छ । पूर्वप्रधानमन्त्रीसमते रहेका पार्टी सभापति शेरबहादुर देउवा फेरि पनि सभापतिका आंकाक्षी हुन् । विमलेन्द्र निधिलगायत अन्यले पनि आकांक्षा राखेका छन् ।
तर, यो बीचमा देउवापत्नी आरजु राणाले अर्थपूर्णरूपमा एउटा पारिवारिक तस्वीर सार्वजनिक गरेकी छन् । फेसबुकमा आरजुले राखेको तस्वीरमा देउवा दम्पतीका साथ छोरा जयवीरसिंह समेत देखिएका छन् ।
अहिलेसम्म सार्वजनिक रूपमा खासै नदेखिएका जयवीरसिंह देउवा दम्पतीका एक्ला सन्तान हुन् । तस्वीर कुनै धार्मिक समारोहमा खिचिएको जस्तो देखिन्छ । देउवा र उनका छोराले राधेराधे लेखिएको खादा लगाएका छन् ।
तस्वीर कहिलेको हो भन्ने खुलाइएको छैन । आरजुले क्याप्सन यति मात्रै लेखेकी छन्, ‘जीवनको आँधीमय समुद्रमा परिवार एउटा लाइफ ज्याकेट हो ।’
कांग्रेसभित्र धर्मको कुरा उठाउनेहरुको पनि जमात छ । महाधिवेशनमा धर्म समेत एउटा महत्वपूर्ण एजेन्डा हुने गर्छ । कांग्रेसभित्र नेपाल हिन्दू राज्यमा फर्किनुपर्छ भन्ने आवाज पटक–पटक उठ्ने गरेको छ । यसतर्फ देखिएको मत आकर्षित गर्नका लागि आरजुले यो तस्वीर सार्वजनिक गरेको हुन सक्ने धेरैको बुझाइ छ ।


विश्व खबर 



















