पेकिङ : चिनियाँ कम्युनिस्ट पार्टीले युवाहरूलाई बिहे गर्न र सन्तान जन्माउन अनुरोध गरिरहेको छ। चीनमा सन्तान जन्माउनु त टाढाकै कुरा भयो बिहे गर्न भनेपछि युवाहरू तर्सिएर भाग्ने गरेका छन्। सन्तान जन्माउने उमेरका चिनियाँले बिहे नै गर्न छाडेपछि चीनमा जन्मदर निकै नै घटेको छ।
कुनै वेला चीनले कानून नै बनाएर कुनै पनि दम्पतीले एउटामात्र सन्तान जन्माउन पाउने प्रावधान बनाएको थियो। दशकौँसम्म चीनमा दोस्रो बच्चा पाउनु अपराध मानिन्थ्यो र दोस्रो सन्तान जन्माएमा सरकारले जेलमै हाल्थ्यो।
अहिले एउटा चिनियाँ जोडीको भिडिओ निकै भाइरल भएको छ। भिडिओमा उक्त जोडीले बिहे गरेपछि सरकारले दिएको प्रोत्साहनबापतको रकम चिनियाँ मुद्रा रनमनपीको गड्डी फैलाएको देखिन्छ। चाङ काङ र वङ लिनपिनको जोडीले बिहे गरेपछि सरकारले आफूलाई पैसा दिएको भिडिओमा उल्लेख गरेको छ।
अहिले चीनका उत्तरी राज्यहरूमा स्थानीय सरकारी अधिकारीहरूले बिहे गर्ने जोडीलाई पैसा दिने प्रस्ताव गर्दै युवाहरुलाई बिहेका लागि लोभ्याउन थालेका छन्।
समाचार संस्था एएफपीका अनुसार बिहे दर्ता गरेको केही समयमै चाङ काङ र वङ लिनपिनले चिनियाँ सरकारको प्रतीकले सजिएको रातो पृष्ठभूमिका सामुन्ने उभिएर बिहे गरेबापत पाएको नगदका गड्डी लोभलाग्दो पारामा फैलाएका छन्। सरकारी अधिकारीले उक्त जोडीलाई बिहे गरेबापत १ हजार ५ सय रनमनपी (२९ हजार नेपाली रुपैयाँ) पुरस्कार दिएका थिए।
५ वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गइरहेको छ। सरकारको आधिकारिक तथ्यांकअनुसार चीनले बिहे गरेका जोडीलाई दिने रकम लुलियाङ शहरमा काम गरेबापत पाइने आधा महिनाको तलब बराबर छ।
बिहे गरेका युवा चाङले एएफपीसँग भने‚ ‘सरकारको यो नीति घट्दै गएको वैवाहिक र रोमान्टिक स्थितिमा सुधार ल्याउन पक्कै प्रभावकारी हुनेछ।’
चाङले सरकारले ल्याएको यो योजनाबारे आफ्ना साथीहरूलाई निकै उत्साहपूर्वक बखान गर्न थालेका छन्। उनका केही साथीहरूले यो योजना मन पराएको पनि बताए।
चिनियाँ युवामा बिहेप्रति वितृष्णा बढेको छ। नबढोस् पनि किन, अत्यधिक महँगीले गर्दा चीनमा बिहेपछि सन्तान जन्माएर पालनपोषण गर्न उनीहरूलाई हुर्काउन र शिक्षादीक्षा दिन सामान्य मानिसका लागि फलामको च्युरा चपाएभन्दा कठिन हुन्छ। यस्तो अवस्थामा उनीहरू घरगृहस्थी बसाल्ने कुरा सुन्नासाथ जनावरले बुर्कुसी मारे झैँ गरेर भाग्नु अन्यथा पनि होइन।
चिनियाँ युवाहरूको बिहेप्रति वितृष्णा बढाउने अर्को कारण पनि जिम्मेवार छ। त्यो हो- यहाँको रोजगार नीति।
केही वर्षयता चीनमा ३५ वर्ष पुग्नासाथै अधिकांश कम्पनीले आफ्ना कर्मचारीलाई ‘लु अब तिमी बूढो भयौ‚ कम्पनीमा तिम्रो कुनै काम छैन‚ अब जेसुकै गर’ भनेर अवकाश दिने गर्छन्‚ अर्थात नोकरीबाट निकालिदिन्छन्।
यो चिनियाँ रोजगार नीतिलाई ‘चीनको अभिशाप’ भनेर भन्ने गरिन्छ। यो नीतिका कारण युवा पुस्ता बिहे गर्ने सोच्न पनि सक्दैन। यस्ता नीतिले चीनले आर्थिक उन्नतिमा औधि फड्को मारेको छ तर चिनियाँ समाज भने छरपष्ट भएको छ।



विश्व खबर 




















