कालिकोट : झन्डै ३८ वर्षपछि निर्माण सकिएको कालीकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित छ।
२०८० सालमा औपचारिक उद्घाटन भएको सुनथराली विमानस्थल कोटवाडामा त्यसयता एक दिन पनि हवाईजहाज आएको छैन । तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई उद्घाटनका लागि लिएर आएको जहाज उहाँहरूलाई नै लिएर फर्कियो तर त्यसपछि सुनथराली कहिल्यै आएन।
उद्घाटन भएको विमानस्थलमा हप्तामा दुई दिन उडान गर्ने भनिएको थियो तर उद्घाटनसँगै त्यो योजना रोकियो। विमानस्थल निर्माण हुन पूरै ३७ वर्ष लागेको थियो। निर्माणपछि पनि औपचारिक उद्घाटन गर्न एक वर्ष कुर्न परेको थियो । अब औपचारिक उद्घाटन भएको एक वर्षसम्म हवाईजहाज आउने कुनै सुरसार छैन। विमानस्थल उद्घाटनका लागि पनि सात पटक मिति तय भएको थियो । २०७९ चैत १५, २०८० वैशाख १ र १५, जेठ १५, असार १५, साउन १० र भदौ १३ गरी सात पटक मिति सर्दा पनि उद्घाटन हुन सकेन। आठौँ पटक २०८० फागुन १४ गते औपचारिक उद्घाटन त भयो त्यसको कुनै लाभ स्थानीयलाई भएन।
नरहरिनाथ गाउँपालिका–१ स्थित कोटवाडामा रहेको विमानस्थल सञ्चालनका लागि गाउँपालिकाले गरेका सबै प्रयास असफल भएका छन्। गाउँपालिकाका अध्यक्ष नगिन्द्रबहादुर विष्टले विमानमा यात्रु नभएमा विमान कम्पनीलाई अनुदान दिनेलगायत धेरै प्रयास गरे पनि कुनै पनि विमान कम्पनीले उडान गर्न नचाहेको बताए। भाडादर निकै चर्को लिने विमान कम्पनीको योजना भएकाले पनि यहाँ विमान सुचारु गराउन नसकिएको अध्यक्ष विष्टको भनाइ छ।
सुदूरपश्चिम प्रदेशको धनगढीबाट उडान भर्नेसम्मको सहमति विमान कम्पनीले गरेका थिए तर कार्यन्वयन गर्न भने नसकेको अध्यक्षको भनाइ छ। पुनः गाउँपालिकाकै पहलमा गत महिनादेखि हप्तामा दुई दिन उडान गर्ने भनियो। त्यो मितिमा पनि हवाईजहाज नआएपछि यहाँका नागरिक विमान चढ्ने सपना पूरा नहुने पक्कापक्की छ । विमानस्थलको धावनमार्गको लम्बाइ ६४० मिटर र चौडाइ २० मिटर कालोपत्रे छ।
दुवैतर्फबाट जहाज अवतरण गर्न सकिने बनाइएको छ । १४ करोड ९० लाख रुपियाँको लागतमा विमानस्थल कालोपत्रेसमेत गरिएको छ । हालसम्म निर्माणको
लागत एक अर्ब रुपियाँभन्दा माथि पुगेको अनुमान गरिएको छ । यति धेरै खर्च गरेर निर्माण सम्पन्न भएको विमानस्थल प्रयोगमा नआउँदा राज्यको लगानी त्यसै खेर गइरहेको छ।























