images
images
  • छठ पर्वले सामाजिक विभेद अन्त्य गर्दै राष्ट्रिय एकता बलियो बनाउने राष्ट्रपति पौडेलको विश्वास

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

    छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्नुका साथै नेपालीबीच आपसी सद्भाव र सामाजिक एकता सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका हुन् ।

    उनले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामनासहित मनाइने छठ पर्वले सूर्यदेवको आराधनामार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्दा मनोकामना पूरा हुने, परिवारको कल्याण हुने तथा दुःखकष्ट हटेर सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहेको पनि राष्ट्रपति पौडेलले बताएका छन् ।

    शुभकामना सन्देशमा उनले सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने तथ्यलाई आत्मसात् गर्दै कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म जलाशय किनारमा बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधसहित अर्घ्य दिई पूजा गर्ने परम्पराले प्रकृतिप्रतिको सम्मान र पर्यावरणीय चेतना अभिवृद्धि गर्ने उल्लेख गरेका छन् । उनका अनुसार छठ पर्वले पारिवारिक तथा सामाजिक ऐक्यबद्धता प्रकट गर्नसमेत महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

    राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै छठी माताको पूजा, अर्चना तथा व्रत गर्ने परम्पराको चर्चा गर्दै नदी, खोला, पोखरी तथा तालतलैयाका किनारमा रातभर जाग्राम बसेर हर्षोल्लासका साथ यो पर्व मनाइने गरेको बताएका छन् ।

    खासगरी तराई तथा मधेस क्षेत्रमा विशेष रूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्दै जानु खुसीको विषय भएको उनको भनाइ छ ।

    राष्ट्रपति पौडेलले नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिको अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्न छठी माता र सूर्य भगवान्को कृपा रहिरहने कामनासमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images