काठमाडौं नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक एकताको सन्देश दिने बताएका छन् । छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताका कारण यस पर्वको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको बताएका हुन् ।
उनले छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै ऋग्वेदमा उषा देवीको स्तुति गरिएको स्मरण गराएका छन् । वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीकका रूपमा उषा देवीको आराधना गर्ने तथा सूर्यको उपासना गर्ने प्राचीन आध्यात्मिक भाव छठ पर्वमा पनि प्रतिबिम्बित हुने उनको भनाइ छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरित गर्ने थापाले बताएका छन् । उनले छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक सोचको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । ‘यस पावन पर्वले हामी सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस्,’ थापाले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।






















