images
images
  • खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    काठमाडौं – रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले ऐतिहासिक सफलता हासिल गरेका छन् । प्रतियोगितामा नेपालले पहिलो पटक रजत पदक जित्न सफल भएको छ भने थप तीन कांस्य पदकसहित कुल चार पदक प्राप्त गरेको छ ।

    रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत पदक जितेका हुन् । त्यस्तै, ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक प्राप्त गरेका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार रजत पदक विजेता रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन् ।

    अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो । यस उपलब्धिले अन्तर्राष्ट्रिय शैक्षिक प्रतिस्पर्धामा नेपाली विद्यार्थीको उपस्थिति थप मजबुत बनाएको छ ।

    यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठ प्रतियोगितामा पनि नेपाली विद्यार्थीले पदक जितेका थिए । उक्त प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक प्राप्त गरेका थिए । आलमले जितेको स्वर्ण पदक अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालले प्राप्त गरेको पहिलो स्वर्ण पदक हो ।

    लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थीले स्वर्ण, रजत र कांस्य पदक जित्नुले खगोलविज्ञान तथा खगोलभौतिकी क्षेत्रमा उनीहरूको प्रतिभा र सम्भावना उजागर गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images