images
images
  • डेमोक्रेटसँग मिलेर अघि बढ्लान् त ट्रम्प ?

    काठमाडौं- संसारका ३ शक्ति राष्ट्रका प्रमुखहरू यस साता भेट्ने कार्यक्रम छ । सबै देशका जलवायुविज्ञहरू टर्किएको आन्तल्यमा भेला भएर मानव जीवनले भोगेको सबैभन्दा ठुलो सङ्कटका बारे छलफल पनि गरिरहेका छन् । अमेरिकी विशेष दूत आयरल्यान्डको डब्लिनमा पुगेर करिब ५ वर्ष अघिदेखिको रुस युक्रेनबीचको युद्ध अन्त्यको प्रयास भयो ।

    यी सबैका बीच अहिलेको चासो अमेरिकी संसद्को नयाँ संरचनापछि पेन्टागनको भूमिका कस्तो रहने भन्ने हो ।

    अमेरिकाको राज्य व्यवस्था प्रत्यक्ष कार्यकारी राष्ट्रपति भएको व्यवस्था हो । यसकारण संसद्ले राष्ट्रपतिलाई धेरै दबाब दिन या समस्यामा पार्ने सम्भावना कमै हुन्छ । तर पनि कहीँ यस्ता नियमावली या विधेयक छन्, जसलाई राष्ट्रपतिले संसद्बाट अनुमोदन गराउनैपर्छ ।

    सन् २०२७ मा रक्षातर्फ १.१५ ट्रिलियन अमेरिकी डलर बराबरको फराकिलो रकम प्रस्ताव गर्ने निर्णयको डेमोक्रेटहरुले खुलेर विरोध गरेका थिए । यसमध्येको धेरै रकम ट्रम्पको नयाँ ढङ्गको युद्ध रणनीतिका लागि थियो । सिनेटर चुक समरले त बारम्बार ट्रम्पले इरानसँग युद्ध गर्ने निर्णय गरेका कारण नै अमेरिकीहरूले अनावश्यक दुःखको सामना गरेको भन्दै उनको आलोचना गरेका छन् ।

    अहिले सिनेटको नयाँ भर्सनको विधेयक प्रस्तुत भएको छ । सो विधेयक धारा २१९ अन्तर्गत ल्याइएको ट्रम्प प्रशासनको भनाइ छ । युनाइटेड स्टेट्स इजरायल डिफेन्स टेक्नोलोजी कोअपरेसन इनिसेटिभको रूपमा सो विधेयक अघि बढेको छ । यसको अर्थ सैन्य उपकरण, अनुसन्धान, प्रविधि, हतियारको जाँच र औद्योगिक विकासका क्षेत्रहरू पर्छन् ।

    डिमान्ड प्रोग्रेसका लागि राजनीतिक सल्लाहकार काभान काजारिन अहिले डेमोक्रेटले उपस्थिति देखाउँदै अमेरिकाले इरानमा गरेको आक्रमणलगायत धेरै विषयमा आफ्नो धारणा अघि ल्याउनुपर्ने कुरामा जोड दिन्छन् ।

    विगतमा पनि पेन्टागनको सैन्य क्षेत्रमा खर्च बढाउन गर्ने निर्णयको विरोध गरेमा अमेरिकी सेनालाई कमजोर बनाउन खोजेको आरोप सत्ता पक्षले लगाउँदै आएको थियो । यो क्रम अहिले पनि नचलेको होइन ।

    पेन्टागनका लागि थप रकम विनियोजन गर्ने काम अहिले रोकिएको छ । पेन्टागनलाई रकम विनियोजन गर्न आवश्यक नयाँ ऐन पास गर्न डिसेम्बर ११ सम्मको समय छ ।

    यसपछि यस सिनेटको संरचनामा परिवर्तन आउने छ । सिनेटमा यसरी नयाँ ऐन ल्याउन डेमोक्रेटको साथ चाहिन्छ । रक्षा ऐनको रूपमा रहेको एनडीएएलाई जसरी भए पनि रोक्ने र यसको परिमार्जित स्वरूपलाई संसद्मा लिएर जाने योजनामा डेमोक्रेटहरु रहेको जनाइन्छ ।

    यसअघि पनि अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले लिने गरेको नीतिको केही सिनेटरले खुलेर नै विरोध गर्ने गरेका थिए । यसरी विरोध गर्नेहरूमा सिनेटर क्रिस भान हलेन हुन् । उनले जुलाई महिनामा नयाँ योजनाहरूको खुलेर आलोचना गरेका थिए । १२ जनाले यस सातामा एउटा चिठी नै लेखेर आलोचना सुरु गरेका छन् ।

    chris van hollen
    क्रिस भान हलेन

    यसरी विरोधमा उत्रनेमा प्रोग्रेसिभ छवि बनाउनेदेखि मध्य दक्षिणपन्थी छवि बनाउनेसम्मका छन् । इन्स्टिच्युट अफ मिडिल इस्ट अन्डरस्ट्यान्डिङका सञ्चार निर्देशक हमिद बन्दास अहिले डेमोक्रेट सिनेटर र प्रतिनिधिसभा सदस्यहरूको चासो र भूमिकाको क्षेत्र व्यापक रहेको बताउँछन् ।

    अहिले अमेरिकामा भएका सर्वेक्षणले पनि इजरायललाई अमेरिकाले गरेको सहयोगको विरुद्धमा धेरै रहेको पाइएको छ । गाजामा इजरायलले गरेको नरसंहारको कारण अमेरिकामा पनि आक्रोश बढेको छ । यसकारण इजरायलसँगको सम्बन्धका बारे पुनर्विचार गर्नुपर्ने अवस्थामा समेत अमेरिका पुगेको छ ।

    अमेरिकाका राजनीतिक विश्लेषककै अनुसार राष्ट्रपति ट्रम्प र संसद्को बीचमा कटु सम्बन्ध नरहन पनि सक्छ । काँग्रेस र राष्ट्रपतिको विरुद्धमा सहमति कायम भए रिपब्लिकनका हार्डलाइनर अहिले ह्वाइटहाउसमा रहेका स्टेफन मिलर र हाउसका जिम जोर्डनको भूमिका पनि कम हुन सक्नेछ ।

    Donald Trump1

    ट्रम्प एकदम चतुर र हार्न नजान्ने व्यक्ति हुन् । धेरैको आकलन छ कि उनले डेमोक्रेट नेतृत्वसँग आफैं कुरा गर्नेछन् । केही यस्ता विषय छन्, जुन विषयमा ट्रम्पले डेमोक्रेटसँग नै सल्लाह गरेर अघि बढ्न सक्नेछन् ।

    अहिले अध्यागमनको विषयमा उठेका सवाल, औषधिको मूल्य र क्रेडिट कार्डको ब्याजदरलगायत धेरै विषय छन् । जुन विषयको छिनोफानो ट्रम्पले ड्रेमोक्रेटसँगको सल्लाहमा गर्नेछन् । भाङसम्बन्धी कानुन, क्यानडामा लगाइएको महँगो भन्सार महसुल र हरित ऊर्जासम्बन्धी धेरै विषयमा राष्ट्रपति ट्रम्पले डेमोक्रेटसँगको सल्लाहमा निर्णय गर्ने र अबको रणनीति तय गर्ने अनुमान गरिएको छ ।

    विगतमा पनि कमजोर बनेका थिए राष्ट्रपति

    bill clinton

    अमेरिकामा राष्ट्रपतिको एप्रुभल रेटिङ एकदम कम भएको एवम् मध्यावधि निर्वाचनमा सत्तारुढ दल यसरी कमजोर भएको यो नै पहिलो पटक भने होइन । यसभन्दा अघि सन् १९९६ मा अमेरिकामा डेमोक्रेट नेता बिल क्लिन्टन राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको लोकप्रियता दुई वर्षमा एकाएक गुमेको थियो ।

    सन् १९९८ मा काङ्ग्रेसमा डेमोक्रेटले लामो समयपछि पकड गुमाएको थियो । यतिमात्र होइन, सभामुख नेविट केन्रिच त अझ बढी कठोर थिए । यसका बाबजुद क्लिन्टनले केही वार्ता गरेर र केही राष्ट्रपतिमा भएको भिटो अधिकारको प्रयोग गरेर आफ्ना धेरै समस्याहरू टारेका थिए ।

    सन् २००६ मा पनि मध्यावधि निर्वाचनमा डेमोक्रेटले अभूतपूर्व सफलता पाएको थियो । त्यस समयमा इराक युद्ध भइरहेको थियो । यसै इराक युद्धका कारण राष्ट्रपति जर्ज डब्ल्यू बुसलाई अमेरिकाले रुचाउन छाडेका थिए । अहिले समय फेरिएको छ । फेरि युद्धका कारण ट्रम्प अलोकप्रिय बनेका छन् । सायद यस पटक पनि उनले कसरी सामना गर्ने हुन् ? यकिन छैन । सायद केही भिटो प्रयोग गरेर र केही अडान छाडेर उनले अबको बाटो तय गर्नेछन् ।

    -अलजजिरा, पोलिटिको, एनबीसी न्युजलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images