काठमाडौं छठ पर्व नजिकिएसँगै सुनसरीका बजारमा बाँसका चोयाबाट बनाइएका पूजासामग्रीको व्यापार बढेको छ । पर्वका लागि डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भीड बजारमा देखिएको छ ।
तिहार सकिएलगत्तै छठको चहलपहल सुरु भएपछि शनिबार अबेरसम्म बजारमा पूजासामग्री किन्ने ग्राहकको घुइँचो लागेको थियो । छठ पूजामा बाँसका चोयाबाट बनाइएका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले हरेक वर्ष यस समयमा यस्ता सामग्रीको माग बढ्ने गरेको व्यापारी बताउँछन् । विशेषगरी पूजाका लागि फलफूल तथा प्रसाद राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ ।
रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले छठ पर्वका अवसरमा तीन–चार दिनमै तीन लाख रुपैयाँभन्दा बढी मूल्यका बाँसका सामग्री बिक्री हुने गरेको बताए । उनले भोजपुर, धनकुटालगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थानबाट सामग्री खरिद गरेर बिक्री गर्दै आएका छन् । स्थानीय बजारमा पर्याप्त सामग्री उत्पादन नहुने भएकाले पहाडी क्षेत्र र भारतबाट खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको उनले बताए ।
अर्का व्यापारी रितेश रौनियाका अनुसार छठ पूजामा बाँसका सामग्री अनिवार्यजस्तै मानिने भएकाले यसको माग हरेक वर्ष बढ्ने गरेको छ । छठ पर्व आफूहरूजस्ता व्यापारीका लागि मौसमी व्यापारको राम्रो अवसरसमेत बन्ने गरेको उनको भनाइ छ ।
तिहार सकिएलगत्तै छठको रौनक सुरु हुने र बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको उनले बताए । आफैँले सामग्री उत्पादन गर्न नसकिने भएकाले भारतबाट खरिद गरी झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको उनले जानकारी दिए ।
पूजास्थलको सरसफाइ र सजावट सम्पन्न
यसैबीच, छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न गरिएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वका लागि स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहले सामूहिक रूपमा पूजास्थल तयार पारेका हुन् ।
सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला र सुनसरी खोलाका साथै झुम्का–चतरा नहर किनारमा सरसफाइ तथा सजावट गरिएको छ । पूजास्थलमा दीप, रङ्गोली र बत्तीको व्यवस्था मिलाइएको छ ।
सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत जिल्लाका विभिन्न स्थानमा सामूहिक रूपमा छठ पूजा गर्ने तयारी गरिएको छ ।






















