images
images
  • क्यानडाको प्रधानमन्त्रीको दौडमा हिन्दी फिल्मकी नायिका !

    काठमाडौं । क्यानडाको प्रधानमन्त्रीमा उम्मेदवारी दिएकी एक युवतीको अहिले सर्वत्र चर्चा छ । भारतीय मूलकी नेतृ रुबी ढल्लाको परिचय राजनीतिज्ञका रूपमा मात्र नभई हिन्दी फिल्मकी नायिकाको रूपमा पनि छ ।

    लिबरल पार्टीकी रुबीले भर्खरै पार्टीको नेतृत्वको दौडमा भाग लिने र क्यानडाको सम्भावित प्रधानमन्त्री बन्ने घोषणा गरेकी छिन् । क्यानडामा पञ्जाबको आप्रवासी परिवारमा जन्मिएकी ढल्ला पहिलोपटक सन् २००४ मा हाउस अफ कमन्समा निर्वाचित भएकी थिइन् ।

    ५० वर्षीया रुबी ढल्लाले दुई दशकअघि बलिउड शैलीको हिन्दी भाषाको चलचित्रमा अभिनय गरेकी थिइन् । उनले खेलेको फिल्मको नाम थियो– क्योँ किस लिए ?

    कम बजेटमा छायांकन गरिएको उक्त फिल्म बलिउडबाट प्रेरित हिन्दी फिल्म हो। विनोद तलवारले निर्देशन गरेको यो फिल्म ह्यामिल्टन सिरियल किलरको वास्तविक जीवनमा भएको हत्या मुद्दामा आधारित रहेको बताइन्छ।

    रुबी ढल्ला लिबरल पार्टीबाट क्यानडाको संसदमा निर्वाचित हुने भारतीय मूलकी पहिलो महिला हुन्। भारतीय मूलकी अर्की महिला नीना ग्रेवाल पनि कन्जरभेटिभ पार्टीबाट क्यानडाको सांसद बनेकी थिइन् ।

    रुबी सन् २००६ र २००८ मा पनि क्यानडाको ‘हाउस अफ कमन्स’को सदस्य थिइन् । सन् २०११ मा भने उनी पराजित भएकी थिइन् ।

    मोडेल र होटल व्यवसायीको परिचय बनाएकी ढल्ला सन् १९९३ मा मिस इन्डिया क्यानडा प्रतियोगिताको रनरअप भएकी थिइन् । आफ्नो राजनीतिक महत्वाकांक्षा पछ्याउँदै उनी अहिले प्रधानमन्त्रीको दौडमा छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images