images
images
  • सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउन रोक

    काठमाडौँ– हेलिकप्टर कम्पनीहरूले आइतबारदेखि सगरमाथा क्षेत्रमा हुने सबै उडान स्थगित गर्ने निर्णय गरेका छन्। वायुसेवा सञ्चालक संघ नेपालले आइतबार विज्ञप्ति जारी गर्दै सुरक्षाको पूर्ण प्रत्याभूमि नभएसम्म हेलिकप्टरहरूले सगरमाथा क्षेत्रमा उडान नगर्ने जनाएको हो।

    केही दिनअघि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका र अन्य स्थानीय युवा समूह तथा संघसंस्थाले पुस १७ गते (जनवरी १) देखि व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेका थिए।

    वन, वातावरण, वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडानमा रोक लगाइएको हो। पर्यटक तथा स्थानीयको उद्धार र मालसामान ढुवानीका लागि भने हेलिकप्टर उडानमा रोक लगाइएको छैन।

    वायुसेवा सञ्चालक संघले भने यी उडान पनि नगर्ने जनाएको हो। संघले पटकपटकको वार्ता गर्दा पनि निर्क्योलमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा झण्डा गाडेर अवरोध गरेको जनाएको छ। कथमकदाचित आपतकालीन अवतरण गर्नुपर्ने अवस्थामा सिर्जना भएको खण्डमा समेत अवतरण गर्ने स्थान नरहेको, हेलिकप्टर अवतरण गरेको खण्डमा स्थानीय समूहले चालक दलका सदस्यहरूलाई समातेर कारबाही गर्ने भन्ने जस्ता अभियव्यक्ति दिएको भन्दै संघले सुरक्षाको प्रत्याभूति नभएसम्म उडान स्थगन गरेको जनाएको छ।

    त्यस्तै सो क्षेत्रमा उडान भर्ने सर्ट टेकअफ एण्ड ल्यान्डिङ (स्टोल) अर्थात् लुक्लामा उडान गर्ने जहाजले पनि क्रमश आफ्ना उडानहरू स्थगन गर्ने पनि संघले चेतावनी दिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images