काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आवको ५ महिनामा जम्मा १६ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ‚ जसमध्ये पुँजीगत खर्च करिब ११ प्रतिशत छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च सबैभन्दा बढी साढे ३६ प्रतिशतभन्दा बढी छ।
काठमाडौँ महानगरपालिका नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालू आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेश गर्दै यस्तो जानकारी दिएकी हुन्।
साथै काठमाडौँ महानगरपालिकाले चालू आव ०८१।८२ को अर्धवार्षिक समीक्षाअगावै बजेट संशोधन प्रक्रिया पनि शुरु गरेको छ।
“महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालू आवको स्वीकृत नीति तथा कार्यक्रमअनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रम हेरफेर गर्न जरुरी देखिएको छ”, उपप्रमुख डंगोलले भनिन्, “विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो।”
संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरका विषयगत समिति एवं अन्य विभिन्न समितिमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रूपमा पास गरी नगरसभामा पेश गरिएको उपप्रमुख डङ्गोलले बताइन्।
आवका लागि विनियोजित कुल बजेट रकम, चालू तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेश गरेको नगरसभामा उनले स्पष्ट पारिन्।
संशोधित प्रस्तावअनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर ७२ करोड ४३ लाख ७१ हजार रुपैयाँ बजेट कायम गर्न लागिएको छ। सो क्षेत्रमा यसअघि ७२ करोड ९९ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको थियो।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अर्ब ७० करोड ५३ लाख ८ हजार रुपैयाँ विनियोजन भएकोमा त्यसलाई बढाएर ३ अर्ब ७२ करोड ६८ लाख ४२ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ।
पूर्वाधार विकासको क्षेत्रमा १२ अर्ब १ करोड ९३ लाख ९१ हजार ५ सय रुपैयाँ बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ।
सामाजिक विकासका क्षेत्रमा यसअघि ५ अर्ब ४८ करोड ८६ लाख ६९ हजार ५ सय रुपैयाँ विनियोजन भएकोमा त्यसलाई घटाएर ५ अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालू आवका लागि २ अर्ब २२ करोड ६५ लाख ८५ हजार रुपैयाँ बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ। उक्त क्षेत्रमा यसअघि २ अर्ब ९६ करोड २९ लाख ८५ हजार रुपैयाँ विनियोजन भएको थियो।
५ महिनामा बजेट खर्च १६ प्रतिशतमात्र
महानगरपालिकाले चालू आवका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ।
चालू आवका लागि महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म ४ अर्ब १ करोड ४ लाख ५६ हजार रुपैयाँ बराबर खर्च भएको उपप्रमुख डङ्गोलले नगरसभालाई जानकारी गराइन्। हालसम्मको बजेट खर्च कुल विनियोजनको १६.१० प्रतिशत हो।
महानगरले हालसम्म चालू शीर्षकमा २३.५८ प्रतिशत र पुँजीगत खर्च १०.९२ प्रतिशत खर्च गरेको छ।
“हालसम्म पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८ प्रतिशत, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ”, उपप्रमुख डङ्गोलले भनिन्, “त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ७.९२ प्रतिशत खर्च भएको देखिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ३६.५४ प्रतिशत खर्च भएको देखिन्छ।”
महानगरले चालू आवमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो।
यही पुस ११ गतेसम्म कुल ४ अर्ब ९ करोड ८९ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व प्राप्त भएको महानगरले जनाएको छ।
जसमा आन्तरिक राजस्वतर्फ कुल २ अर्ब ६१ करोड ५५ लाख ४३ हजार रुपैयाँ सङ्कलन भएको छ भने राजस्व बाँडफाँडबाट ५९ करोड ८९ लाख ४१ हजार रुपैयाँ र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ८८ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ।
हालसम्मको कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ३१.०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२.५५ प्रतिशत प्रगति भएको देखिन्छ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरले ८२.७५ अङ्क प्राप्त गरेको पनि उपप्रमुख डङ्गोलले बताइन्। यो अङ्क काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च अङ्क हो।


विश्व खबर 




















