जनकपुर-जनकपुरमा एक ऋणी ऋण तिर्न जाँदा बैंकले आफ्नो जग्गा लिलामीमा चढाइसकेको थाहा पाएका छन् । जनकपुरधामको मिल्स एरियास्थिति सिद्धार्थ बैंकको शाखा कार्यालयबाट ऋण लिएका दिनेश राय कुर्मीले ३५ लाख रुपैयाँ ऋण लिएकामा बैंकले कर्जा नियमित नभएको भन्दै लिलामीको सूचना निकालेको हो ।
बिहीबार कर्जाको सावाँ ब्याज चुक्ता गर्न भनेर बैंकमा पुग्दा आफ्नो जग्गा विक्रीमा राखिएको थाहा पाए । कुर्मीले स्थानीय जनकपुर उद्योग वाणिज्य संघको सहयोगमा प्रदर्शन गरे । भीडले उग्ररुप लिएपछि प्रहरीले बैंकका शाखा प्रबन्धक अर्ण बलम्पाकी र ऋण अधिकृतलाई सुरक्षा दिनुपरेको थियो ।
कुर्मीले आफूले ऋणको ब्याज समयमै तिर्दै आएको बताएका छन् । उनले ऋण चुक्ता गर्ने भने पनि शाखाका दुई जना मिलेर जग्गा हडप्न खोजेको आरोप लगाएका छन् । पुरै ऋण तिर्न १ हप्ता समय मागेका शाखा प्रबन्धकले जग्गा अर्कैको नाममा पास गरिदिएको उनले बताएका छन् ।

जनकपुरधामको भ्रमरपुरा चोकमा रहेको लक्ष्मी ट्रेडर्स संचालन गर्दै आइरहेका दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँको विजनेश लोन र भाउजुको नाममा महेन्द्रनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट ४५ लाखको व्यक्तिगत लोन लिएका थिए । उक्त लोनको ब्याज आफूले समय समयमा बुझाउँदै आएको तर बीचमा केही महिना परिवारका एक जना सदस्यलाई प्यारालाईसीस भएर चेकजाँच गराउन बाहिर गएको समय बैंकले आफ्नो जग्गा बेचेको ऋणी रायले आरोप लगाएका छन् ।
उनले करोडौंको मूल्यको आफ्नो जग्गा बैंकले बिना जानकारी बेचेको थाहा पाएपछि जनकपुरधाम उद्योग वाणिज्यसंघमा निवेदन दिएर सहयोगका लागि आग्रह गरेका थिए । त्यसपछि उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष, स्थानीय व्यापारीहरु बैंकमा गएर बुझ्दा बैंकले २४ घण्टा भित्र एक मुस्ट रकम जम्मा गरे जग्गा फिर्ता दिने प्रतिबद्धता गरेको उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । पछि बैंकले आनाकानी गर्न थालेको र मालपोतमा गएर बुझ्दा त्यो जग्गा अर्काको नाममा पास भईसकेको जानकारी पाए ।
यता भीडले उग्ररुप लिएपछि बैंकका दुई कर्मचारीलाई सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय धुनषाका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले ऋणको कारण बैंकमा विवाद भएको र दुईजनालाई सुरक्षा दिँदै प्रहरी कार्यालय ल्याइएको जानकारी दिए । उनले भने, ‘एक जना ऋणीले ऋण तिर्छु भन्दै बैंक जानु भएको रहेछ । तर, उहाँको जग्गा लिलामीको सूचना निकालिएको रहेछ । स्थिति तनावमा रहेको पाएपछि सुरक्षाको दृष्टिले उहाँहरुलाई ल्याएका हौं ।
सिद्धार्थ बैंकका प्रबन्धक पक्राउ
सिद्धार्थ बैंकको जनकपुरस्थित मिल्स एरिया शाखाका प्रबन्धक अरन बलम्पाकी पक्राउ परेका छन्। जनकपुर उपमहानगर ८ की ऋणी सुध्रिका देवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले उनलाई कार्यालयबाट नियन्त्रणमा लिएको हो।
कुर्मीले केही वर्षअघि ऋण लिनका लागि धितो राखेको जनकपुर ८ मा रहेको साढे ८ धुर जग्गा जानकारीबिना लिलाम गरिएको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।


विश्व खबर 




















