काठमाडौं – क्रिप्टोकरेन्सी एक बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको छ ।
बिहीबार बिहान बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो । पछिल्लो एक महिनायता बिटक्वाइनको मूल्य उच्च दरमा बढिरहेको छ ।
एक महिनाकै अवधिमा बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशत बढेको छ । अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएदेखि नै बिटक्वाइनको मूल्य उच्च दरमा बढिरहेको हो ।
अहिले फेरि ट्रम्पको अर्को घोषणाले बिटक्वाइनको भाउ बढेको छ । ट्रम्पले सेक्युरिटिज एण्ड एक्स्चेन्ज आयोगको अध्यक्षको जिम्मा पल एटकिन्सलाई दिने घोषणा गरेसँगै बिटक्वाइनको मूल्यले अर्को उचाइ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ ।
एटकिन्सले अमेरिकामा क्रिप्टोमैत्री नीतिको विकास गर्ने अनुमान गरिएको छ । उनको आगमन हुने भएपछि क्रिप्टो बजारका लगानीकर्ता उत्साहित भएको पनि बताइएको छ । हालका अध्यक्ष ग्यारी गेन्सलरले अमेरिकामा क्रिप्टोमैत्री नीति तथा विकासका लागि ध्यान नदिएको आरोप लाग्दै आएको छ ।
यसअघि ट्रम्पले अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने वाचा गरेका थिए । सो वाचाअनुरुप नै ट्रम्पले आयोगमा फेरबदल गर्न लागेको अनुमान गरिएको छ ।


विश्व खबर 



















