काठमाडौं – भुक्तानी सेवा प्रदायक इसेवाले डिजिटल वालेटमार्फत किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने ‘बाइ नाउ, पे लेटर’ (बीएनपीएल) सेवा सार्वजनिक गरेको छ ।
इसेवाले असोज ८ गते रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्ट प्रालिसँग त्रिपक्षीय साझेदारी गर्दै सेवा सुरु गरेको हो ।
साझेदारीअनुसार ग्राहकले इसेवा एपमार्फत प्रक्रिया पूरा गरी परिमिताका विद्युतीय स्कुटर खरिदका लागि बीएनपीएल सुविधा लिन सक्नेछन् । रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।
रिलायन्स फाइनान्सले यस योजनाअन्तर्गत अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउने जनाएको छ । कर्जाको ब्याजदर ९.९९ प्रतिशत रहने र ग्राहकले अधिकतम ३६ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन्।
कम्पनीका अनुसार ग्राहकले स्कुटर खरिदका लागि आवश्यक वित्तीय प्रक्रियासमेत इसेवा एपबाटै पूरा गर्न सक्नेछन् । यसले एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्थाको विकल्पका रूपमा किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा दिनेछ ।
साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्टका मनन तुलाधरले हस्ताक्षर गरेका छन् ।
इसेवाले बीएनपीएल सेवालाई डिजिटल वित्तीय सेवाको विस्तारका रूपमा लिएको जनाएको छ । कम्पनीका अनुसार विद्युतीय स्कुटर खरिदमा वित्तीय पहुँच सहज बनाउने यस योजनाले विद्युतीय यातायातको प्रयोगलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।


विश्व खबर 
















