काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले असोज ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा आवेदन दिने आज असोज १३ गते अन्तिम दिन रहेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा ८० करोड रुपैयाँ बराबरको आठ करोड इकाई बिक्रीमा ल्याएको हो ।
कुल निष्काशित इकाईमध्ये बिक्री भएको कुल इकाई संख्याको १५ प्रतिशत अर्थात् एक करोड २० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकका लागि छुट्याइएको छ ।
बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
इकाई खरिदका लागि लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।
एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड १० वर्ष अवधिको छैटौँ बन्दमुखी योजना हो । योजना व्यवस्थापकका अनुसार कोषमा संकलन भएको अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिनेछ ।
भविष्यमा राम्रो प्रतिफल दिन सक्ने तथा उच्च वृद्धिको सम्भावना भएका कम्पनीको अध्ययन तथा अनुसन्धान गरी लगानी गर्ने योजना व्यवस्थापकले जनाएको छ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरको वेब तथा मोबाइल अनुप्रयोगमार्फत समेत इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।


विश्व खबर 

















