images
images
  • कर्णालीका यातायात कार्यालयबाट ३५ करोडभन्दा बढी राजस्व सङ्कलन

    काठमाडौं – कर्णाली प्रदेशका यातायात कार्यालयहरूले आर्थिक वर्ष २०८२/८३ मा ३५ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेका छन् ।

    कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिमस्थित यातायात कार्यालयबाट एक वर्षमा ३५ करोड आठ लाख ४३ हजार ५९० रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

    जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतले सङ्कलन गरेको छ । सुर्खेत कार्यालयबाट २९ करोड ५६ लाख नौ हजार ४१० रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिनुभयो ।

    त्यस्तै, जुम्लास्थित यातायात कार्यालयबाट करिब दुई करोड रुपैयाँ र रुकुमपश्चिमबाट तीन करोड ५७ लाख ९१ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

    सवारीसाधन करको योगदान बढी

    मन्त्रालयका अनुसार यातायात कार्यालयबाट सङ्कलन हुने राजस्वको मुख्य आधार सवारीसाधन कर रहेको छ । कुल राजस्वमा सवारीसाधन करको योगदान ८७ दशमलव ४६ प्रतिशत रहेको सचिव बमले जानकारी दिनुभयो ।

    चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १० दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन भएको छ । प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट एक दशमलव ४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट शून्य दशमलव २१ प्रतिशत राजस्व प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले यातायात क्षेत्रको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउँदै राजस्व सङ्कलन तथा प्रशासनिक व्यवस्थापनलाई सुदृढ गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images