images
images
  • बाढीले प्रसारण लाइनका टावर बगाएपछि १७६ मेगावाटका छ जलविद्युत् आयोजना बन्द

    काठमाडौं – कालीगण्डकी नदीमा आएको भीषण बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका टावर बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

    बाढीले प्रसारण लाइनका टावर तथा तारमा क्षति पुर्‍याएपछि दाना–खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय विद्युत् प्रणालीमा जोडिएका पाँचवटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण बन्द भएको हो ।

    अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेका पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्त्रीखोला, ३८ मेगावाटको निलगिरी–१, ७१ मेगावाटको निलगिरी–२ र छ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना प्रसारण लाइनमा आएको क्षतिका कारण बन्द भएका छन् ।

    मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् भने यसअघि नै केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन ।

    यसैगरी, अन्नपूर्ण गाउँपालिका–४ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना विद्युत्गृह पहिरोले पुरिएपछि गत साउन अन्तिम सातादेखि नै बन्द छ ।

    तीनवटा टावर बाढीले बगायो

    अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओम फगामीका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१ दोवाको भिरकाटेपारिका दुई र धिरच्याङको एउटा गरी तीनवटा प्रसारण लाइनका टावर बगाएको छ ।

    प्रसारण लाइनसँगै बाढीले कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकमा समेत विभिन्न स्थानमा कटान गरेको छ। सडक भासिनुका साथै पहिरो थुप्रिएपछि यातायात तथा पैदल आवागमनसमेत कठिन बनेको छ ।

    बेनीदेखि पैदल पोखरेबगर हुँदै शिख पुगेका सञ्चारकर्मी गणेश गुरुङका अनुसार बेनी–पोखरेबगर सडकखण्डका विभिन्न स्थानमा सडक भासिएको, कटान भएको र पहिरो थुप्रिएको छ । बाढीपहिरोले विद्युत्का तार तथा पोलमा समेत क्षति पुर्‍याएको उहाँले बताउनुभयो ।

    निर्माणाधीन आयोजना पनि प्रभावित

    बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् ।

    नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रिडका प्रमुख रोशन खड्काका अनुसार अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पोखरेबगरसम्मका विभिन्न स्थानमा रहेका प्रसारण लाइनका टावरमा विपद्का कारण क्षति पुगेको छ ।

    क्षतिको स्थलगत निरीक्षणका लागि प्राविधिक टोलीलाई स्थलमार्गबाट पठाइएको उहाँले जानकारी दिनुभयो। म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा विद्युत् आपूर्ति कायम गर्न वैकल्पिक व्यवस्था गर्ने तथा क्षतिग्रस्त प्रसारण लाइन पुनर्निर्माणको कामलाई सँगसँगै अघि बढाउन प्राधिकरणसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

    पुरानो प्रसारण संरचनामा पनि क्षति

    बाढीपहिरोले पुरानो ३३ केभी क्षमताको प्रसारण लाइनको संरचनामा समेत क्षति पुर्‍याएको छ । दाना सबस्टेसनबाट मुस्ताङतर्फ विद्युत् आपूर्ति गराउने प्रयास भए पनि प्रसारण लाइनका टावरमा भएको क्षतिको अवस्था पहिचान गर्न सडक तथा सञ्चार सम्पर्कमा आएको समस्याले कठिनाइ भएको प्राधिकरणले जनाएको छ ।

    बाढीपहिरोका कारण मुस्ताङको सडक यातायात सम्पर्कसमेत विच्छेद भएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएपछि स्थानीयको जनजीवन थप प्रभावित बनेको छ ।

    म्याग्दी र मुस्ताङसँगै बागलुङका ग्रामीण क्षेत्रमा समेत बाढीपहिरोका कारण विद्युत्, सडक तथा यातायात सेवा प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images