images
images
  • ७० प्रतिशत उत्पादन निर्यात नगर्ने उद्योगलाई कारबाही, पञ्चकन्या एसएस एक्सपोर्ट निष्कासन

    काठमाडौं – विशेष आर्थिक क्षेत्रको निर्धारित मापदण्ड पूरा नगर्ने उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले कुल उत्पादनको कम्तीमा ७० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था पूरा नगरेको भन्दै पञ्चकन्या एसएस एक्सपोर्टलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।

    विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा. दिवाकर लुइँटेलका अनुसार पञ्चकन्या एसएस एक्सपोर्टले तोकिएको शर्तअनुसार उत्पादन निर्यात गर्न नसकेपछि विशेष आर्थिक क्षेत्रबाट निष्कासन गरिएको हो ।

    विशेष आर्थिक क्षेत्रमा सञ्चालन हुने उद्योगले आफ्नो कुल उत्पादनको ७० प्रतिशत अनिवार्य रूपमा निर्यात गर्नुपर्ने व्यवस्था छ । पञ्चकन्या एसएस एक्सपोर्टले उत्पादन गर्दै आएको धातुको ट्याङ्की तोकिएको परिमाणमा निर्यात गर्न नसकेको प्राधिकरणले जनाएको छ ।

    निर्यातमुखी उद्योगका लागि स्थापना

    भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । यहाँ एक हजार चार सयदेखि तीन हजार सात सय वर्गमिटरसम्मका ६९ वटा औद्योगिक जग्गा रहेका छन् ।

    करिब दुई दशकअघि स्थापना भएको भैरहवास्थित विशेष आर्थिक क्षेत्र नेपालको पहिलो निर्यातमुखी औद्योगिक क्षेत्र हो । यहाँ सञ्चालन हुने उद्योगलाई निर्यातमा केन्द्रित गराइएको छ ।

    विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न आवश्यक पूर्वाधारका साथै उद्यमीलाई कर तथा भन्सारसम्बन्धी विभिन्न सहुलियत उपलब्ध गराइएको छ । उद्योग सञ्चालनका लागि सहज नियामक प्रक्रिया, कर प्रोत्साहन र भन्सार महसुल छुटलगायतका सुविधा प्रदान गरिँदै आएको प्राधिकरणले जनाएको छ ।

    उद्योग सञ्चालनका लागि कडा निर्यात शर्त

    विशेष आर्थिक क्षेत्रभित्र स्थापना भएका उद्योगले उत्पादन गरेको वस्तु तोकिएको मापदण्डअनुसार निर्यात गर्नुपर्ने व्यवस्था छ । उत्पादनलाई स्वदेशी बजारमा बिक्री गर्नेभन्दा निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने उद्देश्यले विशेष आर्थिक क्षेत्र स्थापना गरिएको हो ।

    विशेष आर्थिक क्षेत्रमा स्थापना गरिएका उद्योग तथा संरचना अन्यत्र सार्न वा सामान्य उद्योगसरह सञ्चालन गर्नसमेत निश्चित प्रावधान पालना गर्नुपर्ने व्यवस्था रहेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले देशका विभिन्न स्थानमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययन गर्दै आएको छ । साथै विभिन्न क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण तथा लगानीकर्ता आकर्षित गर्ने काम पनि प्राधिकरणले अघि बढाइरहेको छ ।

    भैरहवा र सिमरामा सञ्चालन

    हाल भैरहवा र सिमरामा विशेष आर्थिक क्षेत्र सञ्चालनमा छन् । पाँचखालमा भने पूर्वाधार विकासका लागि थप अध्ययन तथा लगानीकर्ता खोजीको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

    विशेष आर्थिक क्षेत्रमार्फत स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, उत्पादन तथा सेवा उद्योग स्थापना गर्ने र निर्यात प्रवर्द्धन गर्ने सरकारको लक्ष्य छ। लगानीकर्तालाई कर छुट, कम शुल्क तथा भन्सार सहुलियतजस्ता सुविधा उपलब्ध गराउँदै निर्यातमुखी उद्योग विस्तारमा जोड दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images