images
images
  • औद्योगिक क्षेत्रमा सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीसम्बन्धी पाँचदिने तालिम सुरु

    काठमाडौं – नेपालका उद्योगमा सौर्य ऊर्जा प्रवर्द्धन तथा ब्याट्री सञ्चय प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने उद्देश्यले पाँचदिने उच्चस्तरीय तालिम सुरु भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा ‘औद्योगिक क्षेत्रका लागि सौर्य विद्युत् तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली : डिजाइन, जडान र सुरक्षा’ विषयक तालिम सुरु भएको हो ।

    तालिममा नेपालमा सौर्य ऊर्जा तथा ब्याट्री सञ्चय प्रणालीको वर्तमान अवस्था, औद्योगिक कार्बन उत्सर्जन न्यूनीकरण, ऊर्जा व्यवस्थापन, विद्युत् प्रणालीका सेवा, ब्याट्री प्रविधि, सुरक्षा मापदण्ड, साइबर सुरक्षा तथा वातावरणीय र सामाजिक सुरक्षालगायत विषयमा सहभागीलाई जानकारी दिइनेछ ।

    तालिममा देशभरका निजी क्षेत्र, शैक्षिक तथा अनुसन्धान संस्था र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका ४५ जना इन्जिनियरको सहभागिता रहेको केन्द्रले जनाएको छ । तालिम प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा सञ्चालन भइरहेको हो ।

    सैद्धान्तिक ज्ञानसँगै सहभागीलाई वास्तविक औद्योगिक अवस्थालाई आधार बनाएर समूहगत अभ्यास तथा क्षेत्रीय अवलोकन भ्रमणमार्फत व्यावहारिक अनुभवसमेत प्रदान गरिनेछ ।

    नेपालले स्वच्छ ऊर्जा विस्तार, ऊर्जा सुरक्षा तथा हरित औद्योगिकीकरणलाई प्राथमिकता दिइरहेको सन्दर्भमा उद्योगमा सौर्य ऊर्जा प्रयोग बढाएर समग्र ऊर्जा खपत घटाउने र विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउने अपेक्षा केन्द्रले गरेको छ ।

    जलवायुजन्य विपद्का कारण ऊर्जा पूर्वाधारमा बढ्दो जोखिम देखिएको भन्दै केन्द्रले जलविद्युत्मा आधारित उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार नदी प्रणालीसँग जोडिएकाले मनसुनजन्य जोखिमको समेत विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

    रसुवामा आएको बाढीले ऊर्जा पूर्वाधारमा जलवायुजन्य जोखिमलाई थप उजागर गरेको केन्द्रको भनाइ छ । विद्युत् आयोजनाहरू बाढीपहिरोको जोखिममा रहेको अवस्थामा सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीमार्फत स्थानीयस्तरमै ऊर्जा उत्पादन तथा सञ्चय गर्न सके जलवायु उत्थानशीलता बढाउन महत्वपूर्ण योगदान पुग्ने केन्द्रकी सञ्चालक समिति सदस्य अङ्किता शाहले बताउनुभयो ।

    उहाँका अनुसार सौर्य ऊर्जा उत्पादन तथा ब्याट्री सञ्चय प्रणाली प्रवर्द्धनले हरित रोजगारी सिर्जना गर्नुका साथै नयाँ उद्यमशीलताका अवसरसमेत विस्तार गर्न सहयोग पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images