काठमाडौं – हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान सेवा पुनः सुरु गरेको छ ।
एअरलाइन्स्ले सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सुरु गरेको हो । प्रारम्भिक चरणमा यो गन्तव्यमा सातामा दुई उडान सञ्चालन गरिने एअरलाइन्स्ले जनाएको छ ।
काठमाडौँबाट सांघाईका लागि प्रत्येक सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौँका लागि मंगलबार र शनिबार उडान सञ्चालन हुनेछ ।
यात्रुको माग र उडानमा हुने यात्रु सङ्ख्याका आधारमा आगामी दिनमा उडान सङ्ख्या थप गर्ने योजना रहेको एअरलाइन्स्ले जनाएको छ ।
उडान सेवा पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स् काठमाडौँ–सांघाई–काठमाडौँ गन्तव्यमा नियमित सिधा उडान सञ्चालन गर्ने नेपाली वायुसेवा कम्पनी बनेको जनाएको छ ।
एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले सिधा उडान पुनः सञ्चालनले नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँका अनुसार सिधा उडानले चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढाउन तथा पर्यटन र व्यापार क्षेत्रलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एअरलाइन्स्ले यात्रुले टिकट बिक्री कक्ष, आधिकारिक यात्रा साझेदार, आफ्नो वेबसाइट तथा मोबाइल अनुप्रयोगमार्फत टिकट बुक गर्न सक्ने जनाएको छ ।


विश्व खबर 
















