images
images
  • बाढीले एक हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द, भारतबाट २५१ मेगावाट आयात

    काठमाडौं – गत भदौ १० तथा असोज ८ र ९ गते आएको बाढीका कारण एक हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको उत्पादन अवरुद्ध भएको छ । बाढीबाट आयोजनाका संरचनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द हुँदा देशको विद्युत् आपूर्ति व्यवस्थापनमा दबाब परेको हो ।

    ठूलो क्षमताको विद्युत् उत्पादन अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणले माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको छ । प्राधिकरणका अनुसार बाढीपछि पनि भारतबाट दैनिक २५१ मेगावाटसम्म विद्युत् आयात गरी वितरण भइरहेको छ ।

    प्राधिकरणका अनुसार भारतका विभिन्न सीमावर्ती प्रसारण बिन्दुबाट नेपालले विद्युत् आयात गरिरहेको छ। सम्पतीयाबाट ७० मेगावाट, रामनगरबाट ३६.४ मेगावाट, रक्सौलबाट ८९.२ मेगावाट र टनकपुरबाट ५५ मेगावाट विद्युत् आयात भइरहेको छ ।

    यसरी चारवटा प्रसारण बिन्दुबाट आयात हुने विद्युत्ले बाढीका कारण स्वदेशी उत्पादनमा आएको कमी पूर्ति गर्न सहयोग पुगेको प्राधिकरणले जनाएको छ ।

    बाढीका कारण जलविद्युत् आयोजनाका बाँध, इन्टेक, पावरहाउस तथा प्रसारण संरचनामा क्षति पुगेपछि कतिपय आयोजनाको उत्पादन तत्कालै सञ्चालनमा आउन नसकेको प्राधिकरणले जनाएको छ ।

    उत्पादन अवरुद्ध हुँदा स्वदेशी विद्युत् उपलब्धता घटे पनि भारतबाट आयात गरेर प्रणालीमा आपूर्ति कायम राखिएको हो ।

    प्राधिकरणका अनुसार भारतबाट भइरहेको विद्युत् आयातका कारण बाढीपछि पनि उपभोक्ताको विद्युत् आपूर्ति व्यवस्थापनमा सहजता भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images