images
images
  • पहिरो प्रभावित म्याग्दीमा मोनाको १५ लाख रुपैयाँ राहत सहयोग

    काठमाडौं – असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि गएको पहिरोबाट प्रभावित म्याग्दीमा राहत, उद्धार तथा व्यवस्थापनका लागि प्रवासमा रहेका म्याग्देलीले १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

    म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना०ले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उक्त सहयोग उपलब्ध गराएको हो । मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनका अनुसार पहिरो तथा बाढी प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, लत्ताकपडा, तरकारी र बन्दोबस्तीका सामग्री खरिदमा १५ लाख रुपैयाँ खर्च गरिएको छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावित क्षेत्रमा आवश्यक सामग्री व्यवस्थापनमा उक्त रकम खर्च गरिएको पुनले जानकारी दिनुभयो ।

    उहाँले पुनर्निर्माण तथा पुनःस्थापनाका काममा पनि मोना र गैरआवासीय नेपाली सङ्घमार्फत सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

    पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ। दुई जना अझै बेपत्ता छन् । पहिरोको जोखिममा रहेका अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर र किन्दुका १०६ जनालाई उद्धार गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार पहिरोका कारण जिल्लाभर करिब २०० घरपरिवार विस्थापित भएका छन् ।

    पहिरोका कारण म्याग्दीको सडक, विद्युत् र सञ्चार सेवा प्रभावित भएको छ। पोखरादेखि म्याग्दी सदरमुकाम बेनी जोड्ने तथा बेनीबाट ग्रामीण क्षेत्रतर्फ जाने सडक अवरुद्ध छन् । बेनी बजारबाहेक ग्रामीण क्षेत्रमा विद्युत् र सञ्चार सेवा समेत अवरुद्ध रहेको प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images