images
images
  • मालढुङ्गा पुल भत्किएपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध, बिरामीलाई झनै सास्ती

    काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध हुँदा बागलुङ, पर्वतलगायत जिल्लाका यात्रु तथा बिरामीले सास्ती खेप्नुपरेको छ ।

    बागलुङ–पर्वत सीमा मालढुङ्गामा कालीगण्डकी नदीमाथिको पुल भत्किएपछि बागलुङबाट पोखरा तथा अन्य गन्तव्यतर्फ जाने यातायात प्रभावित भएको हो ।

    पर्वतको कुश्मा नगरपालिका–२ नयाँपुलमा समेत कालीगण्डकी नदीले एक सय मिटरभन्दा बढी सडक कटान गरेपछि लोकमार्गमा यातायात सञ्चालन कठिन भएको छ ।

    गलकोट नगरपालिका–१ दुदिलाभाटीकी छममाया बुढाथोकी नियमित स्वास्थ्य परीक्षणका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल जानुपर्ने भए पनि सडक अवरुद्ध हुँदा समयमै अस्पताल पुग्न सकिनन् ।

    बागलुङ बजारसम्म आएपछि झोलुङ्गे पुल तरेर पर्वतको अदुवाबारी हुँदै पाङसम्म करिब ४५ मिनेट पैदल हिँडेपछि मात्र उनले पोखराका लागि सवारीसाधन पाएकी थिइन् ।

    मालढुङ्गाको पुल भत्किएपछि बिरामी तथा अशक्तलाई थप समस्या भएको यात्रुहरूले बताएका छन् ।

    बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका प्रेम श्रीसले सडक र पुलमा क्षति पुग्दा आवतजावत तथा ढुवानी प्रभावित भएको भन्दै मालढुङ्गाको पुल तत्काल पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो ।

    धवलागिरि–गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीका अनुसार वैकल्पिक सडकबाट कठिन रूपमा साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन् ।

    बस सञ्चालन गर्न सक्ने अवस्था नरहेको र बिरामीलाई बढी समस्या परेको उहाँले बताउनुभयो । उहाँका अनुसार सोमबार बिहान बागलुङबाट एक बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था आएको थियो ।

    हाल बागलुङबाट पोखरालगायत गन्तव्यमा जाने साना सवारीसाधन कालीगण्डकी करिडोर हुँदै ज्यामिरेघाट–फलेवासको वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् ।

    बागलुङ–पोखरा चल्ने विद्युतीय माइक्रोबसले पनि बागलुङ बजारबाट पैदल पाङ पुगेका यात्रुलाई अर्मादी हुँदै पोखरा पुर्‍याइरहेका छन् ।

    पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार कुश्मा–२ नयाँपुलमा नदीले सडक कटान गरेको स्थानमा अस्थायी रूपमा नयाँ मार्ग खोल्ने काम सुरु भएको छ ।

    एक–दुई दिनभित्र एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

    मालढुङ्गामा क्षतिग्रस्त पुलमा बेलीब्रिज राख्ने वा अन्य प्रविधिबाट पुनर्निर्माण गर्ने भन्ने विषयमा भने अझै निर्णय भइसकेको छैन । प्राविधिक तथा इन्जिनियरहरूले पुलको अध्ययन गरिसकेको र यथाशीघ्र सञ्चालनमा ल्याउने पहल भइरहेको प्रजिअ क्षेत्रीले बताउनुभयो ।

    कालीगण्डकीमा आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा क्षति पुगेको छ ।

    कतिपय स्थानमा एकतर्फी यातायात सञ्चालनमा आए पनि ठूलो क्षति भएका क्षेत्रमा यातायात सहज हुन अझै समय लाग्ने देखिएको छ ।

    मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङको कोरला नाकातर्फ जाने सडकसमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images