काठमाडौं – लोक सेवा आयोगको आवश्यक परामर्श तथा राय समेटिएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ ।
लोक सेवा आयोगबाट राय तथा परामर्शसहित मस्यौदा फिर्ता आएपछि मन्त्रालयले त्यसको अध्ययन गरी आवश्यक संशोधनसहित अन्तिम रूप दिएको हो। मन्त्रालयले मस्यौदा मन्त्रिपरिषद्मा दर्ता गराइसकेको जनाएको छ ।
विधेयक निर्माणका क्रममा संवैधानिक व्यवस्थाअनुसार लोक सेवा आयोगको परामर्श लिनुपर्ने प्रावधान छ। यसअघि अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदामाथि आफ्नो राय र सहमति दिएका थिए ।
दुवै मन्त्रालयबाट सहमति प्राप्त भएपछि मस्यौदा राय तथा परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको थियो । आयोगले मस्यौदाको अध्ययन गरी रायसहितको परामर्श मन्त्रालयलाई पठाएपछि त्यसलाई समेटेर मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको हो ।
अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मस्यौदामाथि अध्ययन गरी मन्त्रिपरिषद् बैठकमा छलफलका लागि पेस गर्नेछ ।
मन्त्रिपरिषद्बाट मस्यौदा स्वीकृत भएपछि सरकारले त्यसलाई विधेयकका रूपमा सङ्घीय संसद्मा दर्ता गर्नेछ। संसद्का दुवै सदनमा दफावार छलफल तथा पारित भएपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।
अर्थ मन्त्रालय, कानुन मन्त्रालय र लोक सेवा आयोगबाट आवश्यक राय तथा परामर्श प्राप्त भइसकेकाले सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने प्रक्रियामा अघि बढेको मन्त्रालयले जनाएको छ ।


विश्व खबर 
















