काठमाडौं – काभ्रेपलाञ्चोकलाई पर्यटकमैत्री जिल्लाका रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको छ । होटल सङ्घ काभ्रेपलाञ्चोकले सदरमुकाम धुलिखेललाई मुख्य पर्यटकीय केन्द्र बनाएर जिल्लाका १२ वटा स्थानीय तहका प्रमुख गन्तव्यमा दिवा भ्रमण सञ्चालन गर्ने रणनीतिक प्रस्ताव अघि सारेको हो ।
सङ्घका अध्यक्ष प्रल्हाद प्याकुरेलले जिल्लाको होटल व्यवसायको अवस्था, लगानी, रोजगारी तथा १३ वटै स्थानीय तहका पर्यटकीय सम्भावनालाई समेटेर अवधारणा अघि सारेको हो ।
प्रस्तावमा धुलिखेललाई मुख्य पर्यटकीय केन्द्रका रूपमा विकास गर्दै जिल्लाका अन्य १२ वटा गन्तव्यलाई समेत प्राथमिकतामा राखिएको छ ।
सङ्घका अनुसार काभ्रेपलाञ्चोकमा होटल व्यवसायमा करिब २८ अर्ब रुपैयाँ लगानी भएको छ भने १८९ वटा होटल सञ्चालनमा छन् ।
धुलिखेलमा ८८, नगरकोटमा ६३, बनेपामा १५, दोलालघाटमा सात, पनौती, बल्थली तथा कुशादेवी क्षेत्रमा सात, नमोबुद्धमा छ र पलाञ्चोकमा तीनवटा होटल सञ्चालनमा रहेका छन् ।
धुलिखेल क्षेत्रमा मात्रै होटल व्यवसायमा निजी क्षेत्रको करिब २५ अर्ब रुपैयाँ लगानी भएको सङ्घले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट करिब १५ अर्ब रुपैयाँ कर्जा परिचालन भएको र व्यवसायीले वार्षिक करिब एक अर्ब रुपैयाँ ब्याज बुझाउँदै आएको अवधारणा पत्रमा उल्लेख छ ।
धुलिखेलका ८८ वटा होटलमा एक हजार ३५० कोठा तथा दुई हजार ८५० शय्याको क्षमता रहेको छ । जिल्लाका पर्यटकीय क्षेत्रले वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै राज्यकोषमा तीन करोड रुपैयाँभन्दा बढी कर योगदान गरेको सङ्घको दाबी छ ।
होटल व्यवसायले करिब एक हजार ३०० जनालाई प्रत्यक्ष रोजगारी दिएको र तीमध्ये एक हजार ४० जना अर्थात् ८० प्रतिशतभन्दा बढी काभ्रेपलाञ्चोककै स्थानीय नागरिक रहेको जनाइएको छ ।
१३ स्थानीय तहका गन्तव्यलाई जोड्ने योजना
काभ्रेपलाञ्चोकमा समुद्री सतहबाट २८० मिटर उचाइमा रहेको कोखाजोर खोलादेखि तीन हजार १८ मिटर उचाइको बेथानचोक नारायणस्थानसम्म विविध पर्यटकीय सम्भावना रहेको सङ्घले जनाएको छ ।
राजधानी काठमाडौंसँगको निकटता, अरनिको र बिपी राजमार्गको पहुँच तथा काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालजस्ता संस्थाले जिल्लाको पर्यटन विकासमा थप सम्भावना सिर्जना गरेको सङ्घको भनाइ छ ।
धुलिखेल र बनेपाका ऐतिहासिक नेवारी बस्ती, हजार सिँढी, चण्डेश्वरी, गौखुरेश्वर, साँगा तथा स्वास्थ्य र शैक्षिक पर्यटनलाई प्रमुख आकर्षणका रूपमा अघि सारिएको छ ।
पनौती र बल्थलीमा त्रिवेणी घाट, मकर मेला, इन्द्रेश्वर मन्दिर, सांस्कृतिक पदयात्रा तथा घरबासलाई प्राथमिकता दिइएको छ । नमोबुद्ध–दाप्चा क्षेत्रमा बौद्ध स्तूप, बुद्ध परिक्रमा मार्ग, गुम्बा तथा तामाङ संस्कृति पर्यटनको आधार बन्न सक्ने अवधारणामा उल्लेख छ ।
पाँचखाल तथा मण्डनदेउपुरमा पलाञ्चोक भगवती, कृषि पर्यटन, नगरकोटको दृश्यावलोकन तथा इन्द्रावती किनारलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रस्ताव छ।
दक्षिणी क्षेत्रमा साहसिक पर्यटनको सम्भावना
बेथानचोकको तीन हजार १८ मिटर अग्लो नारायणस्थान डाँडालाई दृश्यावलोकन तथा साहसिक पदयात्राको गन्तव्यका रूपमा विकास गर्न सकिने सङ्घले जनाएको छ । खुवा उत्पादनलाई समेत पर्यटनसँग जोड्ने प्रस्ताव गरिएको छ ।
रोशी र तेमाल क्षेत्रमा तीनधारे झरना, तारा खसेको ताल, बोधिचित्तको उद्गम तथा रेञ्जेन दोर्जे दरबारका अवशेषलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने जनाइएको छ ।
भुम्लु, चौँरीदेउराली, महाभारत र खानीखोला गाउँपालिकामा सुनकोशी–इन्द्रावती दोभान, जलयात्रा, महाभारतको वन क्षेत्र, विभिन्न प्रजातिका लालीगुराँस, कफीखेती तथा जैविक कृषिलाई पर्यटनसँग जोड्ने योजना अघि सारिएको छ ।
धुलिखेल–कुशादेवी–चण्डेनी क्षेत्रमा प्याराग्लाइडिङको परीक्षण भइसकेको तथा दोलालघाट–दुम्जा क्षेत्रमा जलयात्रा, चट्टान आरोहण र चरा तथा पुतली अवलोकनको समेत सम्भावना रहेको सङ्घले जनाएको छ ।
धुलिखेललाई पर्यटकमैत्री सहर बनाउन माग
सङ्घले धुलिखेललाई देशकै पहिलो पर्यटकमैत्री सहर घोषणा गर्न माग गरेको छ । त्यस्तै पनौती र नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्न, पर्यटक प्रहरी परिचालन गर्न तथा सार्वजनिक–निजी साझेदारीमा स्थायी पर्यटन संयन्त्र निर्माण गर्न सरकारसँग माग गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
सङ्घले धुलिखेललाई मुख्य आधार बनाएर जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई दिवा भ्रमण तथा अन्य पर्यटन गतिविधिमार्फत जोड्न सके काभ्रेपलाञ्चोकको पर्यटनलाई थप व्यवस्थित र दिगो रूपमा विस्तार गर्न सकिने जनाएको छ ।


विश्व खबर 
















