काठमाडौं – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
बाढीले सडक बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल डाइभर्सन निर्माण गर्न नसकिएपछि खानेपानी पम्प हाउस रहेको भित्री बाटो खोलेर सवारी आवागमन सुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः अस्थायी डाइभर्सन निर्माण गरिनेछ ।
रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाएको थियो । त्यस्तै, दाउन्ने–कालोपुल र चारसयबेँसी क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
हाल जोखिमयुक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । ती स्थानमा छिट्टै दुईतर्फी यातायात सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ ।
सडक खुलाउन सोमबार बिहानदेखि अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डमा खसेका पहिरो पन्छाउने काम सुरु गरिएको थियो ।


विश्व खबर 
















