images
images
  • बिराट एग्रीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

    काठमाडौं – कृषि तथा मत्स्यपालन क्षेत्रमा व्यवसाय गर्दै आएको बिराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

    आईपीओ निष्काशनसम्बन्धी सम्पूर्ण संस्थागत परामर्श तथा बिक्री प्रबन्धकको कामका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी दुई पक्षबीच सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत बिराट एग्रीलाई निजी कम्पनीबाट सार्वजनिक कम्पनीमा परिणत गर्नेदेखि शेयर निष्काशनसम्म आवश्यक परामर्श तथा सहजीकरण गर्नेछ ।

    मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत कम्पनीले व्यावसायिक रूपमा एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ । कम्पनीले इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन क्षमताको आधुनिक माछाको दाना उत्पादन गर्ने कारखानासमेत सञ्चालन गरिरहेको छ ।

    आईपीओबाट प्राप्त पूँजीलाई आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गरी माछाको फिलेट तथा मूल्य अभिवृद्धि गरिएका माछाजन्य उत्पादन गर्ने प्रशोधन तथा फिलेटिङ कारखाना स्थापना गर्न प्रयोग गर्ने कम्पनीको योजना छ ।

    त्यस्तै, पशुपन्छीका लागि दैनिक १० टन क्षमताको नयाँ पेलेट दाना कारखाना निर्माणमा समेत पूँजी परिचालन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

    कम्पनीले ‘फार्मदेखि बजारसम्म’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादन, दाना उत्पादन, आधुनिक प्रशोधन, फिलेटिङ, शीतभण्डार, प्याकेजिङ तथा बजार व्यवस्थापनलाई एउटै एकीकृत व्यावसायिक चक्रमा जोड्ने दीर्घकालीन योजना बनाएको जनाएको छ ।

    विस्तार योजनाले कृषि तथा मत्स्यपालन क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउनुका साथै रोजगारी सिर्जना र माछाजन्य उत्पादनको आयात प्रतिस्थापनमा योगदान पुग्ने कम्पनीको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images