काठमाडौं – विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण तथा मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीले संयुक्त राष्ट्र बाल कोषको सहयोगमा ती केन्द्र स्थापना तथा सञ्चालनमा सहजीकरण गरेको हो । भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकालाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो ।
स्थापना गरिएका १३ केन्द्रमध्ये नौ वटा पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने चार वटा सञ्चालनको क्रममा रहेका छन् । हाल सञ्चालनमा रहेका केन्द्रमा ४६२ जना बालबालिकाले सेवा लिइरहेको नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले जनाएको छ ।
केन्द्रमा बालबालिकाको उमेर र आवश्यकताअनुसार खेलकुद, मनोरञ्जन, सिकाइ, सिर्जनात्मक गतिविधि तथा मनोसामाजिक सहयोगसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् ।
विपद्पछिको कठिन परिस्थितिमा बालबालिकालाई सुरक्षित र सकारात्मक वातावरणमा आफ्ना भावना व्यक्त गर्न, साथीहरूसँग घुलमिल हुन तथा रचनात्मक गतिविधिमा सहभागी हुन केन्द्रले अवसर प्रदान गरेको शाखाले जनाएको छ ।
हाल केन्द्रमा २१९ जना बालक र २४३ जना बालिका रहेका छन् । उमेर समूहका आधारमा पाँच वर्षभन्दा कम उमेरका ८८ जना र पाँच वर्षभन्दा माथिका ३७४ जना बालबालिका रहेका छन् ।
केन्द्रमा सहभागी बालबालिकामध्ये एक जना अपाङ्गता भएका बालबालिका रहेको नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले जनाएको छ ।


विश्व खबर 
















