images
images
  • आरनको घनको चोटले फेरिँदैछ कटहरेको पहिचान, खुकुरीले बढायो आम्दानी

    काठमाडौं – बिहान भालेको डाकसँगै धनकुटाको पाख्रीबास नगरपालिका–५ घोर्लीखर्कस्थित कटहरे गाउँमा आरन बल्छ । आगोको रापसँगै फलाम रातो हुन्छ र घनको चोटले गाउँ गुञ्जिन थाल्छ । पुस्तौँदेखि फलामका कृषि औजार बनाउँदै आएको विश्वकर्मा समुदायले अहिले त्यही परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोडेर खुकुरी उत्पादनलाई गाउँको आम्दानी र पहिचानको आधार बनाएको छ ।

    भोजपुर, खोटाङ र सङ्खुवासभाको प्रवेशद्वारका रूपमा रहेको कटहरेका २३ घरपरिवार धातुजन्य हस्तकलामा आबद्ध छन् । केही वर्षअघिसम्म सामूहिक आरनमा पालो कुर्दै फाली, हँसिया, कोदालोलगायत कृषि औजार बनाउने उनीहरू अहिले आफ्नै घरमा साना उद्योग सञ्चालन गरिरहेका छन् ।

    अधिकांश घरमा ग्राइन्डर, ब्लोअर, काट्ने मेसिनलगायत आधुनिक उपकरण जडान गरिएका छन् । परम्परागत सीपमा आधुनिक प्रविधि थपिएपछि उनीहरूको व्यवसाय कृषि औजार उत्पादनबाट खुकुरी निर्माणतर्फ विस्तार भएको हो ।

    कृषि औजारबाट खुकुरीसम्म

    पहिले दिनभर आरनमा काम गर्दा पनि परिवारको खर्च धान्न मुस्किल पर्ने अवस्था रहेको स्थानीय बताउँछन् । अहिले खुकुरीको माग र बिक्री बढेसँगै आम्दानीसमेत बढेको छ ।

    कटहरेमा उत्पादित खुकुरी स्थानीय बजारमा मात्र सीमित छैनन् । काठमाडौँलगायत देशका विभिन्न बजार हुँदै विदेशसम्म पुग्न थालेका छन् । गुणस्तर, डिजाइन र आकारअनुसार एउटा खुकुरीको मूल्य एक हजार पाँच सयदेखि १२ हजार रुपैयाँसम्म पर्ने स्थानीय बताउँछन् ।

    स्थानीय झमक रसाइलीका अनुसार खुकुरी उद्योगले गाउँको आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन ल्याएको छ ।

    “पहिले खेतीपाती र आरनकै भरमा मुस्किलले घर चल्थ्यो,” उहाँले भन्नुभयो, “अहिले आफ्नै घरमा उद्योग छ । उत्पादनको मूल्य पनि राम्रो पाइन्छ, त्यसैले परिवारको खर्च चलाउन सजिलो भएको छ ।”

    उहाँका अनुसार एउटा परिवारले वार्षिक चार सय वटासम्म खुकुरी उत्पादन गर्दै आएको छ ।

    बालीघरे प्रथा हराउँदै

    खुकुरी उत्पादन व्यावसायिक बन्दै गएसँगै कटहरेमा प्रचलित बालीघरे प्रथा पनि लगभग अन्त्य भएको छ। पहिले अन्नको साटो कृषि औजार बनाइदिने चलन थियो । अहिले भने आरनमा बनेका औजार तथा खुकुरी नगदमा बिक्री हुने गरेका छन् ।

    स्थानीयका अनुसार यसले श्रमको मूल्य बढाउनुका साथै परम्परागत पेसाप्रतिको सम्मानसमेत बढाएको छ ।

    मागअनुसार डिजाइनमा परिवर्तन

    बजारको मागसँगै कटहरेमा उत्पादन हुने खुकुरीको डिजाइनमा समेत परिवर्तन आएको छ । स्थानीय ताराबहादुर विश्वकर्माका अनुसार पहिले सामान्य प्रयोगका लागि खुकुरी बनाउने गरिन्थ्यो । अहिले सजावटी, उपहार तथा सङ्कलनका लागि समेत खुकुरीको माग बढेको छ ।

    “पहिले सामान्य प्रयोगका लागि मात्र खुकुरी बनाइन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले सजावटी, उपहारका लागि र सङ्कलनयोग्य खुकुरीको माग पनि बढेको छ। त्यसअनुसार उत्पादन गरिरहेका छौँ ।”

    गाउँमै रोजगारी, विदेशबाट युवा फर्किँदै

    खुकुरी उद्योग विस्तारसँगै गाउँको जीवनस्तरमा समेत परिवर्तन आएको स्थानीय बताउँछन् । फुसका छाना भएका घर जस्तापाताले छाइन थालेका छन् । अधिकांश परिवारले बालबालिकालाई विद्यालय पठाउन थालेका छन् भने उच्च शिक्षा अध्ययन गर्ने युवाको सङ्ख्यासमेत बढ्दै गएको छ ।

    उद्योगले गाउँमै रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीमा गएका केही युवा पनि फर्किएको प्रेमबहादुर विश्वकर्माले बताउनुभयो ।

    “विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा काम गरेर परिवारसँग बस्न पाइन्छ,” उहाँले भन्नुभयो, “विदेशमा पनि सीपबिना काम छैन, सीप भएकालाई यहीँ राम्रो सम्भावना छ ।”

    कच्चा पदार्थदेखि बजारसम्म चुनौती

    व्यवसाय विस्तार भए पनि खुकुरी उद्योगले विभिन्न चुनौती सामना गरिरहेको व्यवसायीहरू बताउँछन् । कच्चा पदार्थको मूल्य वृद्धि, आधुनिक उपकरणको लागत, बजार विस्तार तथा आफ्नै ब्रान्डको अभावले उत्पादनलाई थप प्रतिस्पर्धी बनाउन कठिनाइ भइरहेको उनीहरूको भनाइ छ ।

    सरकारी निकायबाट प्रविधि, बजारीकरण र सीप विकासमा सहयोग पाए खुकुरी उद्योगलाई थप व्यावसायिक बनाउन सकिने उद्योगीहरूको अपेक्षा छ ।

    पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले गाउँमै केही गर्न सकिन्छ भन्ने सोचका साथ उद्यम गरिरहेका युवालाई सहयोग गर्ने योजना रहेको बताउनुभयो । त्यसका लागि सरकारी नीतिअनुसार सम्बन्धित निकायमा प्रस्ताव पेस गर्नुपर्ने उहाँको भनाइ छ ।

    कुनै समय गरिबी, अभाव र सामाजिक विभेदका कारण पछि परेको कटहरे अहिले आफ्नै सीप र श्रमबाट आर्थिक रूपमा उकासिँदै गएको छ। परम्परागत आरनलाई आधुनिक उद्योगमा रूपान्तरण गर्दै यहाँका शिल्पीले खुकुरीलाई आम्दानीको स्रोत मात्र नभई गाउँको नयाँ पहिचानका रूपमा स्थापित गरिरहेका छन् ।

    कटहरेको आरनमा घनको आवाज अझै उस्तै छ । फरक यति हो, हिजो जीविका चलाउने बाध्यता बनेको त्यही घनको आवाज आज गाउँको उद्यम, आत्मनिर्भरता र पहिचानको आवाज बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images