काठमाडौं – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रसारण लाइनका टावर तथा पोलमा क्षति पुग्दा म्याग्दी र बाग्लुङमा सञ्चालित दुई जलविद्युत आयोजनाको विद्युत उत्पादन तथा प्रसारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
माउण्टेन इनर्जी नेपाल लिमिटेड र दरमखोला हाइड्रो इनर्जी लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई छुट्टाछुट्टै पत्र पठाउँदै आफ्ना आयोजनाबाट विद्युत उत्पादन तथा प्रसारण बन्द भएको जानकारी दिएका हुन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा सञ्चालित ४२ मेगावाट क्षमताको मिष्ट्री खोला जलविद्युत आयोजनाको विद्युत प्रसारण नेपाल विद्युत प्राधिकरणको दाना–कुश्मा २२० केभी प्रसारण लाइनमा क्षति पुगेपछि रोकिएको हो ।
माउण्टेन इनर्जी नेपालका वरिष्ठ अधिकृत दिवाकर प्याकुरेलका अनुसार असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीपहिरोका कारण प्रसारण लाइनको टावरमा क्षति पुगेको थियो ।
नेपाल विद्युत प्राधिकरणले असोज १२ गते पठाएको पत्रमार्फत टावरमा क्षति पुगेको जानकारी गराएपछि आयोजनाबाट हुने सम्पूर्ण विद्युत प्रसारण बन्द भएको कम्पनीले जनाएको छ ।
त्यस्तै, बाग्लुङमा सञ्चालित ९.६ मेगावाट क्षमताको दरमखोला हाइड्रो इलेक्ट्रीक परियोजनाको विद्युत उत्पादन तथा प्रसारणसमेत बाढीका कारण रोकिएको छ ।
कम्पनीका सञ्चालक माधवप्रसाद खरेलका अनुसार असोज ९ गते आएको बाढीले आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुर्याएको थियो । उक्त क्षतिपछि असोज ९ गते राति ८ बजेदेखि आयोजनाको विद्युत उत्पादन र प्रसारण पूर्ण रूपमा बन्द रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बाढीका कारण आयोजनाको हेडवर्क्स, पावरहाउसलगायत मुख्य संरचनामा भने उल्लेख्य क्षति पुगेको छैन । प्रसारण लाइनको मर्मत सम्पन्न भएपछि विद्युत उत्पादन पुनः सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
प्रसारण संरचनामा आएको क्षतिका कारण दुवै आयोजनाको विद्युत उत्पादनभन्दा पनि प्रसारण प्रणाली प्रभावित भएको देखिएको छ । क्षतिग्रस्त टावर, पोल तथा तारको मर्मत सम्पन्न भएपछि मात्रै आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।


विश्व खबर 















