२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

लावतीको छैटौँ स्मृति दिवसः विकासप्रेमी छवि

e 8

विकासप्रेमी नेताको परिचय बनाउनुभएका पूर्वमन्त्री पद्मसुन्दर लावतीको छैटौँ स्मृति दिवस आज मनाइँदैछ । लावतीको ७६ वर्षका उमेरमा विसं २०७२ जेठ २७ गते काठमाडौँमा निधन भएको थियो । मिर्गौलासम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएका उहाँको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उहाँको निधनपछि वर्षेनी यहाँ स्मृतिका कार्यक्रम आयोजना हुँदै आएकामा यस वर्ष कोभिड–१९ सङ्क्रमणको महामारीका कारण ठूला कार्यक्रम आयोजना गरिएका छैनन् । विकासनिर्माणका क्षेत्रमा जिल्लाका लागि निकै ठूलो योगदान दिएकाले जिल्लावासीले उहाँलाई सधैँ स्मरण गर्ने गरेका छन् ।

लावतीको जन्म विसं १९९६ मा पाकिस्तानको बालुचिस्तान प्रान्तको क्वेटामा भएको थियो । उहाँका मावली बाजे ९हजुरबुवा० मेजर कमानसिंह थाङ्देन गोर्खा पल्टनमा कार्यरत हुँदा तत्कालीन बेलायती साम्राज्यको अधिनस्थ क्वेटामा उहाँको जन्म भएको थियो । उहाँको बाल्यकाल मावली घर तेह्रथुमको पाउँदिनमा बितेको थियो । लावतीले त्यहाँ प्रारम्भिक शिक्षाको शुरुआत गर्नुभएको थियो । किशोरावस्थामा प्रवेशपछि लावती आफ्नो घर यासोकको भदौरे आउनुभएको थियो ।

स्व लावतीद्वारा लिखित जीवनकथा ‘मेरो देश मेरो परिवेश’ मा उल्लेख भएअनुसार उहाँले केही समय हुलाकीको काम पनि गर्नुभयो । सामाजिक सम्बन्ध बनेपछि उहाँ राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ विसं २०१९ मा युवक सङ्गठनको राजनीतिमा प्रवेश गरी अञ्चल सभापति हुनुभएको थियो । विसं २०२३ मा यासोक गाउँ पञ्चायतको प्रधानपञ्च, विसं २०२४ मा जिल्ला पञ्चायतको सदस्य, २०२९ मा राष्ट्रिय पञ्चायत सदस्य र उद्योग वाणिज्य राज्यमन्त्री हुनु भएपछि लावतीको राजनीतिक यात्राले उचाइ लियो । पटक–पटक गरेर २५ वर्ष लावतीले यहाँबाट राष्ट्रिय पञ्चायत तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको थियो । उहाँ १२ पटक मन्त्री बन्नुभएको थियो । एकपटक उहाँ गृहमन्त्रीसमेत बन्नुभएको थियो ।

लावतीको जीवनको उत्तराद्र्ध निकै उथलपुथलपूर्ण रह्यो । पञ्चायतकालदेखि नै पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापासँग उहाँको मतभेद थियो । पञ्चायत पृष्ठभूमिका नेता लोकन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, डा प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर राणासँग उहाँको राम्रै सम्बन्ध रहेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा मुख्यतः रवीन्द्रनाथ शर्मा र कमल थापासँग उहाँको घनिष्ठ राजनीतिक सहयात्रा रहेको पाइन्छ । राप्रपा नेपाल समानान्तरसमेत बनाई नेतृत्व गर्नुभएका लावती सधैँ संवैधानिक राजतन्त्रप्रतिको वैचारिक अडान रहेका कारण प्रजातन्त्र पुनःस्थापनापछि भने विसं २०५१ को मध्यावधि निर्वाचनमा मात्रै पाँचथर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको थियो ।

लावतीकै पहलमा मेची अञ्चलका जिल्ला जोड्ने मेची राजमार्ग निर्माण, फिदिमबाट यासोकसम्म विद्युतीकरण भएको थियो । उहाँ स्वास्थ्यमन्त्री छँदा झापाको भद्रपुरमा २५ शय्याको अस्पताल स्थापनासँगै अस्पतालका लागि पाँच बिघा जमिन खरिद, फिदिममा १५ शय्याको अस्पताल स्थापना र ५० रोपनी जग्गा खरिद, तेह्रथुममा १५ शय्याको अस्पताल स्थापना, ताप्लेजुङ, गुल्मी, भैरहवा, अर्घाखाँची, मनाङ, मुस्ताङ र चैनपुरमा अस्पताल स्थापनासँगै वीर अस्पतालको समेत स्तरोन्नति भएको उहाँको जीवनकथामा उल्लेख छ ।

लावतीले जिल्लामा कारागार, प्रहरी, नेपाली सेना, कृषि, जिल्ला विकास समिति, प्रशासन, अदालतलगायत निकायलाई प्रशस्तै जग्गाको प्रबन्ध गर्नुभएको थियो भने पाँचथर बहुमुखी क्याम्पससहित गाउँ–गाउँमा विद्यालय, दूरसञ्चार, स्वास्थ्य संस्थाको स्थापनामा उहाँले महत्वपूर्ण पहल गर्नुभएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनलाई सहयोग गर्नुभएका लावतीले प्रधानमन्त्री बन्ने चाहना राख्नुभएको थियो । दरबारले उहाँलाई जिम्मेवारी नदिएपछि लावतीले ‘राजाले मलाई पत्याएनन्’ भन्ने गुनासो गर्नुभएको चर्चा हुने गरेको थियो । लावतीका दुई छोरी र तीन छोरा छन् । उहाँको स्मृतिमा फिदिम र यासोक बजारमा शालिक निर्माण गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n