काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसअघि पुनर्गठन गरिएको मन्त्रीमण्डलमा सात जना मन्त्री पद खाली थियो ।
रक्षा मन्त्रालय आफूसँगै राखेर प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरु थपेका हुन् । थपिनेमा सिन्धुलीका सांसद गणेश पहाडी पनि रहेका छन् । पहाडी २०५४ सालमा एमाले विभाजन हुँदा मालेमा लागेका थिए ।
पहाडीलाई ओलीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तय भएको श्रोतले जनाएको छ । पहाडी एमाले नेता योगेश भट्टराई निकट हुन् ।
‘पहाडी र भट्टराईको सम्बन्ध कति निकट छ भने भट्टराईले एक्लै नयाँ पार्टी खोले भने पनि पहाडीले भट्टराईको नै साथ दिनेछन्,’ उनीहरु निकट एक नेताले बताए । पहाडीलाई मन्त्री बनाउने भएपछि ओलीले योगेश भट्टराईको प्रतिनिधिलाई मन्त्री बनाएको चर्चा पनि चल्न थालेको छ ।
यसअघि ओलीले जारी गरेको ६ बुँदे प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिएका योगेश भट्टराईले पनि माधव नेपाल समूह छाडेर ओली समूहमा लागेको हुनसक्ने अनुमान गरिएको थियो । तर, अहिले सम्म उनी नेपाल समूहमा नै छन् ।
भट्टराई पछिल्लो समय मध्यमार्गी धारमा रहेर पार्टी एकताको लागि सघन छलफलमा रहेका लागि प्रयासरत छन् ।
२७ गते संसदमा विश्वासको मत दिन पहाडी अनुपस्थित थिए ।तर, नेपाल समूहले राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएपछि भने पहाडीले असन्तुष्टि पोखेका थिए ।
२०७० सालमा पनि उनी सिन्धुलीबाट निर्वाचित भएका थिए ।


विश्व खबर 


















